सर्वा्धिक कमाइ गर्ने महिला खेलाडी

टोकियो । जापानी टेनिस स्टार नाओमी ओसाका सर्वा्धिक कमाइ गर्ने महिला खेलाडी बनेकी छन् । अमेरिकी खेलाडी सेरेना विलियम्सलाई पछि पार्दै ओसाका विश्वमै सर्वा्धिक कमाइ गर्ने महिला खेलाडी बनेकी हुन् ।

फोब्र्स पत्रिकाका अनुसार २२ वर्षीय दुईपटककी ग्रान्डस्लाम उपाधि विजेता ओसाकाले पुरस्कार र विभिन्न प्रायोजनबाट ३०.७ मिलियन पाउन्ड रकम आम्दानी गरेकी छन् । पछिल्लो १२ महिनामा ओसाकाले ३८ वर्षकी सेरेनाभन्दा १.१५ मिलियन पाउन्ड रकम बढी आम्दानी गरेकी छन् । यसअघि पछिल्ला चार वर्ष विलियम्स सर्वा्धिक कमाइ गर्ने महिला खेलाडी बनेकी थिइन् । त्यसअघि सारापोभाले लगातार पाँच वर्ष शीर्ष स्थानमा कब्जा जमाएकी थिइन् ।

ओसाका र विलियम्सले रुसी खेलाडी मारिया सारापोभाले सन् २०१५ मा आर्जन गरेको २४.४ मिलियन पाउन्डको कीर्तिमानी रकम तोडेका छन् । फोब्र्सले सन् १९९० देखि महिला खेलाडीको वार्षिक आम्दानी सार्वजनिक गर्दै आएको छ । प्रत्येक वर्ष सार्वजनिक गरिने सूचीमा टेनिस खेलाडी शीर्षस्थानमा पर्दै आएका छन् ।

हैटीमा जन्मिएका बुबा र जापानी आमाबाट जन्मिएकी ओसाका सन् २०२० को सर्वा्धिक कमाइ गर्ने शीर्ष सय खेलाडीको सूचीमा २९औं स्थानमा छिन् । उनी सेरेना विलियम्स भन्दा चार स्थान अगाडि छिन् । २०१८ को यूएस ओपनमा सेरेनालाई हराउँदै ओसाकाले पहिलो ग्रान्डस्लाम उपाधि जितेकी थिइन् । उनले सन् २०१९ मा अस्ट्रेलियन ओपन जितेकी थिइन् । पछिल्लो समय ओसाकाको प्रदर्शन निकै खस्किएको छ । उनी डब्लूटीएले सार्वजनिक गर्ने वरीयतामा १०औं स्थानमा आएकी छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते सोमवार
प्रतिक्रिया