सल्यानको पश्चिमी क्षेत्रमा टेलिफोन सुचारु

 

सल्यान , १९ फागुन ।
सल्यानको पश्चिमी क्षेत्रमा टेलिफोन सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमले साविकको मूलखोला गाविस–८ राउचेको लाटुगैरमा टावर विस्तार गरेसंँगै सो क्षेत्रमा टेलिफोन सेवा सञ्चालनमा आएको हो ।

दुई वर्षअघि निर्माण शुरु गरिएको टावर स्थानीय, प्रदेश र केन्द्रको चुनावका कारण समयमा काम नसकिएको टेलिकमले जनाउँदै आएको थियो । टावर विस्तारपछि बन्गाड कुपिण्डे नगरपालिका वडा नं १,४, र ६ तथा सिद्धकुमाख गाउँपालिकाको केही भागमा सुविधा भएको छ । टेलिफोन नहुँदा स्थानीयवासी घण्टाँै हिँडेर सल्ली बजार पुगेर फोन गर्नुपर्ने बाध्यता थियो ।

टेलिकम क्षेत्रीय कार्यालय सुर्खेतले टावरमा जडान गर्ने उपकरणको अभावले ढिला भएको जानकारी दिए पनि नगरपालिकाले ताकेता गरेपछि टावर सञ्चालनमा आएको हो । यसैबीच एक महिनादेखि सल्ली बजारमा एडिएसल सेवा अवरुद्ध रहेको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन १९ गते शनिवार
प्रतिक्रिया