घोराहीले आफै ढुंगाजन्य बस्तुको उत्खनन् गर्ने

घोराही, १६ फागुन

स्थानिय तहहरुले नै नदिजन्य बस्तुको उत्खनन तथा संकलनको काम गर्ने निर्णय बमोजिम घोराही उपमहानगरपालिकाले त्यसको कार्यान्वयनका लागि बाटो खोलेको छ । नगर कार्यपालिकाको बुधबार बसेको बैठकले उपमहानगर क्षेत्रमा विकास निर्माणको कामका लागि आबस्यक पर्ने ढुंगाजन्य बस्तुहरुको संकलन र उत्खनन् गर्न पहिचान तथा व्यवस्थापन समिति गठन गरेको हो ।

समितिको संयोजकमा घोराही उपमहानगरपालिका १८ का अध्यक्ष भरत अर्याल, सदस्यमा वडा नम्बर ११ का अध्यक्ष कुलबहादुर लामिछाने र सदस्य सचिबमा ईन्जिनियर रामधन श्रेष्ठ रहनुभएको छ ।

स्थानिय सरकार सञ्चालन ऐन २०७४ ले तोके अनुसार र जिल्ला समन्वय समितिबाट पेश भएको पत्र सहितको निर्णयलाई आधार बनाई घोराही उपमहानगरले आबस्यक नदिजन्य पदार्थको संकलन र उत्खनन गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले घोराही उपमहानगरपालिकाको क्षेत्रमा संचालन हुने विकास निर्माण सम्वन्धि आयोजना सम्पन गर्नका लागि बाताबरण मैत्री ढंगबाट संकलन र उत्खनन् गर्ने निर्णय गरेको हो ।

ठेक्का लागेका खोला र त्यस बाहेकको क्षेत्रमा आवश्यक पर्ने नदि जन्य पदार्थहरुको पहिचान तथा व्यवस्थापन गर्ने गरि समिति गठन भएको हो । उपमहानगरपालिका तहमा संचालन हुने विकास निर्माण सम्वन्धि आयोजनाको लागि मात्र बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म प्रतिघन फिट दुई रुपियाँ राजश्व लिई उठाउने व्यबस्था गर्ने निर्णय भएको छ ।

चालु आर्थिक बर्षको विनियोजित बजेट अन्तर्गत संचालन हुने योजनाका लागि आवश्यक पर्ने नदि जन्य पदार्थको उत्खनन् र ओसारपसार गर्न डोजर तथा स्काभेटरको प्रयोग समेत गर्न सकिने निर्णय भएको छ ।

साथै घोराही उपमहानगरपालिका क्षेत्र भित्र पर्ने नदि जन्य पदार्थको संकलन तथा उत्खनन्का लागि ति क्षेत्रहरुको प्रारम्भिक वातावरणीय परिक्षण गर्न जिल्ला समन्वय समितिलाई अनुरोध गर्ने समेत निर्णय भएको छ ।

यसैविच नगर कार्यपालिकाका सदस्य बिमला गन्दर्भका श्रीमान् बिरामी भएको र विपन्न भै उपचार गर्न कठिनाई भएको हुँदा उपचारका लागि १० हजार रुपैयाँ र अर्का नगर कार्यपालिकाका सदस्य डिल्ली नेपालीकी श्रीमतीको उपचार खर्चका लागि ५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय भएको नगर प्रमुखका प्रेस संयोजक निमुसंगम घर्तीले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७४ फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया