सल्यानमा सवारी दुर्घटनामा १८ जनाको ज्यान गयो

फागुन ०८, २०७४

मिना बुढाथोकी ,फागुन ८ , सल्यान ।
सल्यानमा चालु आर्थिक वर्षको सात महिनामा सवारी साधन दुर्घटनामा परी मृत्यु हुनेको सख्या १८ पुगेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका अनुसार सात महिनाको अवधिमा विभिन्न सवारी साधन दुर्घटना हुँदा १८ जनाको ज्यान गएको हो ।

चालु आ.व. को साउन महिनादेखि माघ मसान्तसम्म विभिन्न सवारी साधन, बस, ट्रक, जीप, मोटरसाइकल, ट्याक्टर दुर्घटना हुँदा १८ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख गोपाल शर्माले जानकारी दिनु भयो । बढ्दो सवारी साधनको चाप, साँघुरो मोड र सडक, ड्राइभरको लापरवार्ही, ट्राफिक नियमको सचेतनाको अभाव लगायतका कारण सवारी दुर्घटना दिनप्रतिदिन बढ्दै गईरहेको शर्माले बताउनु भयो ।

उहाँले भन्नु भयो विगतका वर्षहरुको तुलनामा सवारी दुर्घटना दिनप्रतिदिन बढि रहेका छन् , विगतका वर्षहरुको तुलनामा सवारी साधनको चाप बढि रहेको छ भने चाप अनुसारको सडकको विस्तार पनि हुन सकिरहेको छैन जसका कारण दुर्घटना बढ्दै गईरहेको छ ।

सात महिनाको बिचमा ४ बस, २ ट्रक, ३ जीप, ५ मोटरसाइकल र ४ ट्याक्टर दुर्घटना भएको शर्माको भनाई रहेको छ ।
सवारी दुर्घटना न्युनिकरणका लागि गाडी चालक, सहचालक र यात्रुहरुलाई ट्राफिक नियम सम्बन्धि सचेतना समेत दिदै आइरहेको शर्माले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस