रेडपाण्डाको छाला प्रहरीलाई विक्रि गर्न खोज्ने पक्राउ

तुलसीपुर, २ फागुन / दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला प्रहरीलाई विक्रि गर्न खोज्ने दुई जना दाङको तुलसीपुरमा छाला सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका ६ निबासी ५१ बर्षका रुपलाल बोहोरा र त्रिवेणी गाउँपालिका ३ टोट्के निवासी ३६ बर्षका टोपबहादुर वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जनाएका छन् ।
आरोपी दुई जनालाई प्रहरीले तुलसीपुर उपमहानगरपालिका ९ वेलुवाबाट बुधबार दिउसो २ बजे पक्राउ गरेको थियो । ५ नं. प्रदेशको प्रहरी विउरो र इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाको नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेको हो ।
दुवै जनाले रुकुमबाट डेढ लाखमा खरिद गरेर चार लाख रुपैयाँमा विक्रि गर्ने भन्दै तुलसीपुरसम्म आएका थिए । उनिहरुसंग प्रहरीले केहि दिन यता रेडपाण्डको मोलमोलाई गर्दै आइरहेको थियो । प्रहरीले छाला सहित पक्राउ गरेका दुवै जनालाई धनौरी सेक्टर वन कार्यालय तुलसीपुरलाई जिम्मा लगाएको छ । नेपालका हिमाली जिल्लामा पाइने रेडपाण्डाको छाला तस्करहरुले तेस्रो मुलुकमा निर्यात गर्दै आएको पाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७४ फाल्गुन २ गते बुधवार
प्रतिक्रिया