उचित संरक्षण र प्रचारको अभावमा ढकढके ओझेलमा

माघ १९, २०७४

 

बुद्धिमान पुन, सल्यान १९ माघ ।

उचित संरक्षण र प्रचारको अभावमा सल्यानमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र ढकढके ओझेलमा पर्दै गएको छ । क्षत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ लेखपोखरा, ढकढकेमा अवस्थित यो क्षेत्रमा गुफा, मन्दिर, ढुंगाको मादल, ढुंगेपानी, ढकढके ढुंगा रहेका छन् ।

यहाँ रहेको गुफाको प्रवद्र्धनमा समेत सम्बन्धित निकायले खासै ध्यान नदिँदा ओझेलमा परेको स्थानीयवासी ध्वज बहादुर पुनको भनाइ रहेको छ । ‘प्राकृतिक सुन्दरताले भरिएको यस गुफाको अहिले संरक्षणमा कुनै पहल हुन सकेको छैन्, यसको संरक्षण र प्रचारप्रसार गर्न सके संभाबनाका धेरै मुहानहरु खुल्थे’–उनले भने ।

के–के देख्न सकिन्छ ढकढके क्षेत्रमा ?

जिल्लाको सदरमुकाम खलंगा देखी झण्डै आठ कोष टाढाको दुरीमा रहेको यस क्षेत्रले चर्चा बटुल्न सकेको छ्रैन् । चारै तीर हराभरा जंगल लेकको टुपोमा रहेको शिद्ध बाबाको मन्दिरले पनि यसको महत्व बढाएको छ । जहाँ हरेक बर्ष कोजाग्रत पूर्णिमाको दिनमा भब्य मेला लाग्ने गर्दछ । मन्दिरमा गएर पुजापाठ गर्दा आफ्नो मनोकांक्षा पुरा हुने जनबिश्वास रहेको छ ।

मन्दिरको नजिकमा ढकढके ढुंगा रहेको छ । जुन ढुंगाको रहस्य पनि बिचित्र रहेको छ । त्यस ढुंगाको टुप्पोमा जान सबै सक्दैनन्, जुन ब्यक्ति जान्छ, त्यो भाग्यमानी हुने बिश्वास रहेको छ । यस ढुंगा हल्लीएरमा मात्रै पानी पर्ने जनबिश्वास पनि रहि आएको छ ।

मन्दिरको नजिकमा ढुंगैढुंगाको ढुंगे पानी रहेको छ । जो दुध दुहुने गाबु आकारको रहेको छ । यसमा पानी बाह्रै महिना भैरहन्छ । न त यसको कतै पानी आउने मुहान छ, न त पानी बगेर जाने ठाँउ छ, तर यहाँ बाह्रै महिना पानी रहेको हुन्छ । त्यहाँ बाट पानी निकालेको केही दिन पछि आउदा पानीले भरिएको हुने गरेको स्थानियको भनाई छ ।

मन्दिर देखी करिब ५०० मिटर तल लेकको फेदमा चाँदनी सात सते गुफा रहेको छ । हेर्दा आश्चार्य लाग्ने यस गुफा भित्र बिभिन्न प्रकार प्राकृतिक मूर्तीहरु रहेका छन् । गुफा भित्र भगवानका आकृतिहरु हुनुको साथै बिभिन्न जनाबरका आकृतिहरु पनि रहेका छन् । यस गुफा भित्र ढुंगाको मादल रहेको छ । त्यहाँ रहेको ढुंगालाई हिर्कादा मादल बजे जस्तै आवाज आउने स्थानियले बताए । गुफामा ७ वटा तला भएको स्थानियको भनाई छ । गुफा भित्र हजारौँ चमेराहरु समेत रहेका छन् ।

कहिले हुन्छ गुफाको अनुसन्धान

नेपाल कै ठूलो गुफाको रुपमा स्थानियले दाबी गर्दै आएको यस गुफाको बारेमा अध्ययन अनुसन्धान अझै हुन सकेको छैन् । एक सताब्दी पहिले स्थानिय कुल बहादुर पुनले गाईबाख्रा चराउन जंगल गएको बेला उक्त गुफा देखेका थिए ।

अहिले सम्म गुफाको बिषयमा अध्ययन र अनुसन्धान नभए पनि करिब ३० मिटर चौडाई, १५ मिटर उचाई र लम्बाई ३०० मिटर बढी भएको स्थानियको दाबी छ । यस्तै गुफा सात तलाको भए पनि अहिले सम्म तीन तला सम्म मात्रै पुग्ने गरेको स्थानिय बताउछन् । गुफामा चाँदी जस्तै टल्कने टल्कएमान बस्तु भए पनि त्यसको अझै सम्म अनुसन्धान हुन सकेको छैन् ।

संरक्षणको पखाईमा गुफा

बि.सं. २०६५ सालको गाउपरिषद बाट रकम बिनियोजन गरेर यस गुफामा गेट निर्माण गरिएको थियो । त्यस यता सांसद प्रकाश ज्वालाको सांसद बिकास कोषको रकम र पर्यटन कार्यालय भैरहवाको आर्थिक सहयोग बाट अहिले गुफाको नजिकमा पर्खाल, गुफा देखी मन्दिर सम्म सिढी लगाएतका निर्माणका कामहरु सम्पन्न भएका छन् ।

यस गुफाको संरक्षण गर्नु पर्छ भनेर स्थानियले चाँदनी साततले गुफा संरक्षण समिती नामक एक समिती गठन गरेर संरक्षणको लागी अगाडी बढे पनि सरोकारवालाहरुले ध्यान नदिदाँ यस गुफा अझै पनि ओझेलमा परेको समितीका अध्यक्ष याम बहादुर पुनले बताए । यस गुफामा मोटरबाटो, बिजुली बत्ती, खानेपानी आदीको ब्यबस्था नहुदाँ आन्तरिक तथा बाह्य पर्यटकहरु कम मात्रामा आउने गरेको उनले दुखेको पोखे ।

गुफामा मोटरबाटो, बिजुली बत्ती, खानेपानी आदीको ब्यबस्था भए संगै प्रचारप्रसारलाई ब्यापक रुपमा अगाडी बढाउन सके पर्यटकहरुको संख्यामा पनि बृद्धि हुने उनले बताए । सो क्षेत्रको उचित संरक्षण र प्रचार गर्न सके आन्तरिक र बाह्य पर्यटनमा विकास हुने स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस