राप्रपा सल्यान नेकपा एमालेमा समाहित

मिना बुढाथोकी,सल्यान ४ माघ ।
राप्रपा सल्यान नेकपा एमाले सल्यानमा समाहित भएको छ । राप्रपा जिल्ला अध्यक्ष मनोज सिहं लगायतका सिंगो जिल्ला कार्यसमिति एमालेमा समाहित भएको हो । बिहिबार बिहान जिल्लाको सदरमुकाम खलंगा स्थित एमालेको पार्टी कार्यालयमा सामुहिक पत्रकार सम्मेलन गरि यस्तो जानकारी गराईएको हो ।

जिल्ला कार्य समितिमा रहेका ४४ जना सदस्य र ९ सय बढी संगठित सदस्य सहित नेकपा एमालेमा प्रवेश गरेको जिल्ला अध्यक्ष मनोज सिहंले बताए । उनले राप्रपाका सह महामन्त्री मनोज प्रधान, केन्द्रीय सदस्य राजेन्द्रविर राय लगायतका केन्द्रीय स्तरका नेताहरु पनि एमाले सल्यानमा समायोजन भएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै उनले भने –‘राप्रपाका केन्द्रीय नेताको गद्दारीले गर्दा हामीले पार्टीको अस्तित्व नै गुमाएका छौं ।’ उनले देश कै चौथो शक्तीका रुपमा रहेको पार्टीले अहिले आएर राष्ट्रिय राजनितिमा पार्टीको झण्डा, बोर्ड राखेर राजनिति गर्ने अवस्था नभएकाले एमालेमा समायोजन भएको बताए ।

‘हामी देश कै चौथौ शक्तीका रुपमा थियों तर नेतृत्व पंक्तीमा आएको बिचलनका कारण हालै सम्पन्न भएका स्थानीय तह, प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा जनताले हामीलाई विश्वास गरेनन्, जसबाट हामी पराजित भयौं, अहिले हाम्रो पहिचान नै हराए पछि एमाले संग समायोजनको विकल्प भएन’– उनले भने ।

उनले थपे –‘राष्ट्रिय राजनितिमा पार्टीको सिद्दान्त र अस्तित्व बचाउन जिल्ला तहका नेतृत्व बाट गाह्रो हुदो रहेछ, केन्द्रीय तहबाट पनि नेता विचलित भएकाले हामी यो अवस्थामा आएका हौं ।’

राप्रपाका अध्यक्ष सहितको सिंगो पार्टीलाई एमालेमा स्वागत गर्दै नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द पुनले राजनितिक मतभिन्नता नहुने गरि राप्रपा संग एक भएको बताए । ‘राप्रपा एमालेमा समायोजन भई सक्यो, अब जिम्मेवारी बांडफांड गर्ने सहितका प्राविधिक कुरामा छलफल भई रहेको छ’– उनले भने । अबको केही दिनमै सिंगो राप्रपालाई औपचारिक कार्यक्रमको आयोजना गरेरै स्वागत गर्ने उनको भनाई रहेको छ ।

 

प्रकाशित मिति : २०७४ माघ ४ गते बिहिवार
प्रतिक्रिया