भालुवाङ महोत्सवको सम्पूर्ण तयारी पुरा

सन्तोषकुमार गुप्ता

भालुवाङ २७ पुस /इन्द्रेणी युवा क्लव भालुवाङको आयोजनामा पुस २८ गते देखी माघ ८ गते सम्म सञ्चालन हुन लागेको दोस्रो राप्ती कृषि, पर्यटन, औद्योगीक तथा व्यापारीक महोत्सव २०७४ को सम्पूर्ण तयारी पुरा भएको छ । “कृषि उद्योग व्यापार तथा पर्यटकको आगमन, राप्ती कृषि, पर्यटन महोत्सव २०७४ को अभियान” भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक स्थीत निमार्णाधिन बसपार्कमा महोत्सव सञ्चालन गर्न लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सव मूल आयोजक समितीका अध्यक्ष तथा क्लबका अध्यक्ष भिमबहादुर मर्रासिनीले जानकारी दिनु भएको छ । महोत्सवको उद्घाटन प्रदेश नम्बर ५ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सदस्य मेटमणी चौधरीले गर्ने अध्यक्ष मर्रासिनीले जानकारी दिनु भयो । यसैबीच अध्यक्ष मर्रासिनीले शुक्रबार(भोली) बिहान १२ बजे हुने महोत्सव उद्घाटन कार्यक्रममा उपस्थीत भईदिनु सम्पूर्ण दाङ—देउखुरी जिल्लाबासी, छिमेकी जिल्लाबासी, संघसंस्था, पत्रकार, राजनितिकदल लगायत सबैमा आग्रह समेत गर्नु भएको छ ।
महोत्सवको तयारी पुरा भए संगै अहिले भालुवाङ बजारमा समेत थप रौनकता थपिएको छ । महोत्सवमा बनाएको करिब डेढ सय बढी स्टल सबै बुकिङ्ग भईसकेको र स्टलका व्यापारीहरु समेत महोत्सवस्थलमा आईसकेको आयोजकले जनाएको छ । महोत्सवमा पत्रकाहरुलाई समाचार सम्पेषण गर्न नेट तथा वाईफाईको समेत व्यवस्था गरिएको अध्यक्ष मर्रासिनीले जानकारी दिनु भयो । महोत्सव स्थलमा कुनै अप्रिय घटना हुन नदिन तथा महोत्सवको गतिबिधि हेर्न करिब दश बढी स्थानमा सिसि क्यामरा जडान गरिएको अध्यक्ष मर्रासिनीले बताउनु भयो । महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन, बाल उद्यान रमाइलो मेला, विभिन्न खालका प्रतियोगिताहरुको प्रतिस्पर्धा गराईने राप्तीको समग्र पर्यटन र प्रवद्र्धन विकासका लागि पनि राप्ती नदीमा ¥याप्टिङ लगायत अन्य थुप्रै आकर्षणहरु महोत्सवका मुख्य आकर्षणका केन्द्रहरु रहने छन् । महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने, महोत्सव अवधीभर राप्ती आइडल प्रतियोगिता समेत हुने कार्यक्रम निर्देशक बिराज बिष्टले जानकारी दिनु भयो ।
महोत्सवका लागि भालुवाङ, लालमटिया, पुरानो भालुवाङ बजार र सापमारा लगायतका क्षेत्रमा स्वागत गेट समेत बनाईएको छ । महोत्सव स्थलमा भौतिक संरचना निर्माणको सम्पूर्ण काम सकिएको आयोजकले जनाएको छ । महोत्सव स्थलमा मञ्च, मौतकाकुवा, चरखेपिङ्ग, झुला, बालबाललिका लागि रमाईलो खेल र धरहराको निर्माण कार्य सकिएको आयोजकको भनाई छ । क्लवको भवन निमार्णका लागि महोत्सवको आयोजना गरिएको महोत्सव एघार दिन सम्म सञ्चालन हुने बताईएको छ । महोत्सवले यस क्षेत्रको समग्र शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिईएको छ । त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संम्भावनाहरु बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबद्र्धन र प्रचार–प्रसार गर्नमा यस महोत्सवको औचित्य रहेको ठहर गरिएको छ ।
एघार दिन सम्म संचालन हुने महोत्सवमा तीन लाख दर्शकले अवलोकन गर्ने र दुई करोड बराबरको कारोवार हुने अनुमान गरिएको छ । महोत्सव अवधीभर प्रवेश शुल्क प्रति व्यक्ति ६० र विद्यार्थी, अपाङग, जनआन्दोलनका घाइते तथा जेष्ठ नागरिकहरुलाई परिचयपत्रका आधारमा रु ४० शुल्क लाग्ने र दृष्टिविहिन, पूर्ण शारिरीक अपाङग र ७५ वर्ष उमेर भन्दा माथिका जेष्ठ नागरिक तथा पत्रकारहरुलाई परिचयपत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको महोत्सवका निर्देशक बिष्टले जानकारी दिनु भएको छ ।
साथै महोत्सवको पहिलो दिन झाँकीमा प्रथमलाई ७ हजार ५ सय, दोस्रोलाई ५ हजार ७ सय, तेस्रोलाई ३ हजार ५ सय र सान्त्वनालाई २ हजार ५ सय नगद पुरस्कारको व्यवस्था गरिएको निर्देशक बिष्टले बताउनु भयो । त्यस्तै राप्ती आइडलमा प्रथमलाई नगद २० हजार र ३ वटा म्युजिक भिडियोमा खेल्ने अवसर दिइने छ भने दोस्रो हुनेलाई १५ हजार नगद र २ वटा म्युजिक भिडियोमा खेल्ने अवसर, तेस्रोलाई १० हजार नगद र १ वटा म्युजिक भिडियोमा खेल्ने अवसर दिइने र सान्त्वना हुनेलाई ५ हजार नगद पुरस्कारको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०७४ पुष २७ गते बिहिवार
प्रतिक्रिया