यसकारण हार्यो कांग्रेस

मंसिर २५, २०७४

काठमाण्डौं,२५ मंसीर ।

२०१५ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले १०९ सिटमा ७४ सिट आफू एक्लैले जितेको थियो । हिजोका दिनसम्म नेपाली कांग्रेस मुलुककै सबैभन्दा ठूलो पार्टी थियो तर आज ऊ कमजोर पार्टीका रूपमा देखा परेको छ । मत गणनाको प्रारम्भिक नतिजाले अब नेपाली कांग्रेस आउँदो ५ वर्षका लागि प्रमुख प्रतिपक्षमा बस्ने प्राय: निश्चित छ ।

निर्वाचनको मत परिणामले शेरबहादुर देउवाको नेतृत्व कांग्रेसका लागि पूर्णत: असफलसिद्ध गरेको छ । देउवाकै नेतृत्वमा स्थानीय चुनाव र प्रदेश र प्रतिनिधिसभा चुनावमा कांग्रेस पराजित हुन पुग्यो । यो हारको नैतिक जिम्मेवारी लिँदै उनले पार्टी सभापति पद त्याग गर्नु उपयुक्त हुन्छ । सरकारमा बसेका बेला कांग्रेस नेतृत्वले लिएका जनभावनाविपरीतका निणर्य, नेतृत्वको अदूरदर्शी सोचाइ र वामपन्थीहरूको गठबन्धन कांग्रेस हार्नुका प्रमुख कारण हुन् । अन्य कारण निम्न छन् :

१) निर्वाचनको मुखमा कार्यकर्तालाइ राज्यकोषबाट करोडौं रकम बाँड्नु जसबाट आम मतदाता रुष्ट हुनु ।
२) मुख्य चुनावी एजेन्डा अघि सार्न नसक्नु । सबै नेतालाई मिलाएर धेरै ठाउँमा ठूल्ठूला आमसभा गर्न नसक्नु । शीर्ष नेतृत्वमा एकता छ भन्ने सन्देश दिन नसक्नु ।
३) लोकतान्त्रिक गठबन्धन भनेर राप्रपा, राप्रपा प्रजातान्त्रिकसँग मात्र गठबन्धन गरिनु । अरू पार्टीलाई सामेल गर्न नसक्नु ।
४) जनभावनामा ठेस पुग्ने गरी इमानदार प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव ल्याउनु तर लोकमानसिंह कार्कीजस्तो भ्रष्टलाई महाअभियोग लगाउन उदासीन बन्नु ।
५) कनिष्ठ प्रहरी अधिकृतलाई महानिरीक्षक बनाउन खोज्नु ।
६) भारतले नेपालमा नाकाबन्दी लगाउँदा विरोध नगरी मौन बस्नु । भारत भ्रमणमा रहेका बेला उल्टै शेरबहादुर देउवाले नेपालको संविधान जसरी भए पनि संशोधन गर्छौं भन्नु ।
७) चीनलाई बनाउन दिइएको बुढीगण्डकी जलविद्युत् आयोजनाको सम्झौता एकतर्फी रूपमा खारेज गर्नु । चीनसँग पारवहन र इन्धन ल्याउने कार्यमा उदासीन बस्नु ।
८) कांग्रेस पार्टीलाई नीतिगत छलफलको थलो नबनाई सामूहिक निणर्यको सट्टा व्यक्तिगत र खल्तीको पार्टी बनाउनु । जनभावनाको ख्याल नगरी भ्रष्ट खुमबहादुर खड्कालाई संसदीय समितिमा राख्नु, गुन्डानाइके भनेर चिनिएका गणेश लामाजस्तालाई टिकट दिइनु पनि कांग्रेस हारको कारण हो ।
– गोपाल देवकोटा
गोकर्णेश्वर–८ जोरपाटी, काठमाडौं
कान्तीपुर बाट साभार

प्रतिक्रिया दिनुहोस