दिपक गिरीद्धारा सांसद विकास कोषको रकम दुरपयोग, मतदाता भन्छन- यसपाली भोट दिदैनौं

गणेश आचार्य,तुलसीपुर १८ मंसीर ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं दाङ क्षेत्र नम्वर ३ का प्रतिनिधी सभा सदस्यका उमेद्वार दिपक गिरीले सांदस विकास कोषको रकम दुरुपयोग गरेको पाइएको छ । दोस्रो संबिधानसभाको चुनावमा दाङ क्षेत्र नम्बर पाँचबाट प्रत्यक्ष निर्वाचित हुनुभएका मन्त्री गिरीले आफ्नो सांसद विकास कोषको रकम आफ्नै खेतमा बाटो बनाउन खर्च गरेको पाइएको हो ।

जिल्ला विकास समिती दाङबाट प्राप्त खर्च बिवरण अनुसार गिरीले साबिकको हेकुली–९सुकदेवामा नयाँ बाटो निर्माणमा बजेट बिनियोजन गरेको उल्लेख छ । जिविसको रेकर्ड अनुसार मन्त्री गिरीको सांदस विकास कोषबाट जुरपनिया–सुकदेवा सडक निर्माण शीर्षकमा दुई लाख ८८ हजार रुपैंया भुक्तानी गरिएको उल्लेख छ ।

उपभोक्ता समितीका अध्यक्ष सीताराम चौधरीका अनुसार सांसद विकास कोषको रकमले त्यहाँ बिच खेतबाट ११ सय मिटर लामो बाटो खोलिएको छ । स्थानिय कृष्ण चौधरीका अनुसार बाटो खोलिएको ठाऊँमा मन्त्री गिरीकै परिवारको जग्गा धेरै छ । त्यहाँ करिब २६ बिघाहा जग्गा गिरी परिवारको रहेको उहाँले जानकारी दिनुभयो ।

पुर्व मन्त्री गिरीको खेतमा बनाइएको उक्त बाटो गोल्टाकुरीको झुलुङ्गे पुलसम्म छ । त्यो बाटो स्थानिय कसैले पनि प्रयोग गर्दैनन् । गिरी परिवारको जग्गा धेरै भएकाले घडेरीको रुपमा बेच्नकालागि बिच खेतबाट बाटो खोलिएको स्थानिय श्यामकुमार चौधरीले बताउनुभयो । त्यहाँका मतदाताले अघिल्लो पटक चुनाव जिताउँदा सांसद विकास कोषको पैसाले आफ्नै खेतमा बाटो बनाउने गिरीलाई यसपटक भने भोट नहाल्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : २०७४ मङ्सिर १८ गते सोमवार
प्रतिक्रिया