वेलझुण्डीमा वहुउदेश्यीय रंगशाला बन्छ – सचिव दाहल

 

लक्ष्मण बस्नेत, १८ मंसिर तुलसीपुर ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहलले दाङको बेलझुण्डीमा सुुविधा सम्पन्न वहुउदेश्यीय रंगशाला निर्माणको प्रक्रिया तत्काल सुरु गर्ने बताउनु भएको छ । मिसन आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ का लागि संभावित खेल स्थल निरिक्षण गर्न दाङ आउनु भएका सचिव दाहलले अवको पाचँ वर्ष भित्रै वेलझुण्डीमा सुविधा सम्पन्न वहु्उदेश्यीय रंगशाला बन्ने गरी काम थाल्ने बताउनु भयो ।

जिल्लाको खेलकुदको विकास र विस्तारका लागि वहुउदेश्यीय रंगशाला निर्माणको मास्टर प्लान डिपीआरको कार्य अन्तिम चरणमा पुगेकाले पनि अव छिट्टै निर्माणको कार्यसम्पादन प्रक्रिया सुरु हुने उहाँले बताउनु भयो । बर्दियाको संभावित खेल स्थल निरिक्षण पश्चात दाङ आउनु भएका सचिब दाहलले बेलझुण्डीको १५ विगाह क्षेत्रफलमा अन्तराष्ट्रिय मापदण्डको फुटबल मैदान, ४ सय मिटर ट्रयाक भित्र प्रयाक्टीस फुटबल खेलमैदान, इण्डोर खेलका लागि मल्टी प्रपोज कर्वडहल लगाएतका भौतिक संरचना निर्माण गर्ने गरी डिपीआरको काम भइरहेको बताउनु भयो ।

सो अवसरमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगीले आठौ राष्ट्रिय खेदलकुदलाई लक्षीत गरी डिपीआरको काम संगै वजेट निकासा प्रक्रिया तत्काल अगाडी वढाउन सचिव दाहल समक्ष आग्रह गर्नु भएको थियो । हाल सम्म डिपिआरको काम फाइनल नहुनु, आठौ राष्ट्रिय खेलकुदको मिति नजिकीदै जानु र भौतिक संरचनाको कुनै काम सुरु नहुनुले आफुहरु अन्योलमा परेको भन्दै अध्यक्ष डाँगीले यी महत्वपुर्ण काममा विलम्व नगरिदिन आग्रह समेत गर्नु भयो ।

जवाफमा सचिव दहालले आठौ राष्ट्रियका लागि भौतिक संरचना निर्माण स्वरुप पहिलो चरणमा निकासा भएको १ करोड ७५ लाख रुपैया तत्काल जिल्लामा पठाउन निर्देश गर्ने समेत बताउनु भयो । साथै उहाँले सो रकमबाट हाललाई मैदानको दक्षीण र पुर्वतर्फ पर्खाल लगाउने कार्य पुरा गर्न आग्रह गर्नुभयो ।

यसैविच संभावित खेल स्थल निरिक्षण गर्न दाङ आएको युवा तथा खेलकुद मन्त्रालयका सचिव सहित सात सदस्यीय प्रतिनिधी मण्डलले तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे संग पनि भेटघाट गरेको छ । भेटका क्रममा दाङ जिल्लालाई स्पोर्टस सिटीका रुपमा विकास गर्ने, जिल्लामा खेलकुदको भौतिक संरचना, खेलाउन सकिने संभावित खेल, आठौ राष्ट्रियको उद्घाटन या समापन दाङमा गर्ने गरी तयारी थाल्ने लगाएतका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा मेयर पाण्डेले दाङ जिल्लामा प्रतियोगिताको उद्घाटन गरे आर्थिक लगाएतका पक्षमा महत्वपुर्ण खर्च उपमहानगरपालिकाले व्यहोर्ने बताउनु भएको थियो । प्रतिनिधी मण्डलमा युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहल, सहसचिव अण प्रसाद न्यौपाने, उपसचिव रवी प्रसाद दवाडी, मध्यपश्चिम क्षेत्रिय खेलकुद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापा, एथ्लेटिक्सका वरिष्ठ प्रशिक्षक विक्रम जंग थापा, राष्ट्रिय खेलकुद परिषदका इन्जीनिएर विश्वामित्र सन्ज्याल रहनु भएको थियो ।

सोही अवसरमा दाङको तुलसीपुर क्षेत्रमा स्थापित त्रिशिद्धेश्वरी स्पोर्टस क्लब, योङ स्टार क्रिकेट क्लब र तुलसीपुर क्रिकेट एकाडेमीले तुलसीपुर क्षेत्रका दुईवटा संभावित खेल मैदान निर्माणको पहल गरिदिन अनुरोध सहितको ज्ञापन पत्र सचिव महेश प्रसाद दाहललाई बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै दाहलले खेलमैदान निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

प्रकाशित मिति : २०७४ मङ्सिर १७ गते आइतवार
प्रतिक्रिया