महिलाहरु तरकारी खेतीतर्फ आकर्षित

कार्तिक १५, २०७४  |  ७४ पटक पढिएको

बुद्धि पुन,सल्यान १५ कार्तिक । 

तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि सल्यान सल्लीबजार आसपासका बासिन्दा व्यवसायिक तरकारी खेतीतर्फ आक्रर्षित भएका छन् । थोरै लगानी बाट राम्रो आम्दानी हुने भए पछि बन्गाड कुपिण्डे नगरपालिकाको सल्लीबजार आसपासका स्थानिय तरकारी खेती तर्फ आक्रर्षित भएका हुन् । अहिले सल्लीबजारका महिलाहरुले जग्गा भाडामा लिएर व्यवसायिक रुपमा तरकारी खेती गरिरहेका छन् । महिलाहरु समूह नै गठन गरेर तरकारी खेतीमा जुटेका छन् ।

राधाकृष्ण ताजा तरकारी कृषक समूहमा आवद्ध पार्वती विकले तीन रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्नु भएको छ । ‘धान, मकै, गहुँ लगाउने जग्गा भाडामा लिएकि हुँ’ उहाँले भन्नु भयो –‘तरकारी खेतीबाट वर्षमा दुई लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुन्छ ।’ तरकारी खेती गर्न शुरु गरे पछि राम्रो आम्दानी हुने गरेको समूहका सदस्य राधिका पुनले बताउनु भयो । ‘तरकारीको आम्दानीबाट घरखर्च चलाउन, केटाकेटी पढाउन निकै सजिलो भएको छ’– उहाँले भन्नुभयो । शुरु शुरुमा तरकारी खेती गर्दा लगानी पनि उठाउन धौँ धौँ हुने गरेको बताउदैँ उहाँले अहिले सबै खर्च कटाएर २ लाख बढी आम्दानी हुने गरेको बताउनु भयो ।

व्यासायिक रुपमा तरकारी खेती गर्नको लागि उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतले सो समूहलाई १५ लाख रुपैयाँ अनुदान सहयोग गरेको थियो । तरकारी खेतीले सल्लीबजार क्षेत्रका किसानको जीवनस्तर उकास्दै छ ।

एक जना किसानले एक सिजनमा ५० क्विन्टल तरकारी बेच्ने गर्छन् । यस्तै यस आयोजनाले विष्णु आँपखोली ताजा तरकारी समूहलाई ८ लाख रुपैयाँ अनुदान दिएको थियो । त्यो रुपैयाँले उनीहरुले बाँसको टनेल, सिचाईको लागि पाइप र पानी पोखरी बनाएका छन् । विष्णु आँपखोली ताजा तरकारी समूहका सचिव तुंगबहादुर बिसीले किसानहरुले व्यवसायिक रुपमा तरकारी खेती गर्न शुरु गरेको र आम्दानी पनि ३ तिहाइले बढेको बताउनु भयो । उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतको सहयोगपछि छिन्चु जाजरकोट सडक खण्ड असपासका किसानको जीवनस्तर फेरिएको छ ।

बिष्णु आँपखोली ताजा तरकारी उत्पादन समूहमा आवद्ध २५ जना किसानले तरकारी बेचेरै राम्रो आम्दानी गरिरहेका छन् । उपकरणको अभाव, मौसम अनुकुलका तरकारीका जातहरुको अभाव, सिचाई सुविधा नहुँनु जस्ता कारणले पनि किसानले थप आम्दानी गर्न सकिरहेका छैनन् । उनीहरुले मौसम अनुकुलका तरकारीको बीउको विकास गर्नुपर्ने, कृषि प्रविधिलाई किसान मैत्री बनाउनु पर्ने माग गरेका छन् । यस्तै राज्यले किसानहरुलाई सस्तो व्याजदरमा उपकरण, बीउ बिजन, खनजोत गर्ने उपकरणको पनि तत्काल व्यवस्था गर्नुपर्नेमा पनि किसानले जोड दिएका छन् ।

साथै कृषि बिमा लगाएतका कुराहरुमा पनि उनीहरुले जोड दिएका छन् । उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतले किसानको आयस्तर बृद्धि गर्नको लागि समस्या समाधानको लागि आयोजनाले काम गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस