‘जीवन बदल्नेहरु’ पुस्तकको समीक्षा

घोराही, १२ कात्तिक ।
‘जीवन बदल्नेहरु’ पुस्तकको आज घोराहीमा समीक्षा गरिएको छ । पत्रकार दुर्गालाल केसीले लेखेको पुस्तकको आज समीक्षा गरिएको हो ।मुक्त कम्लहरी विकास मञ्चका पुर्व अध्यक्ष उर्मिला चौधरीको अध्यक्षता तथा पुर्व सांसद शान्ता चौधरीको प्रमुख आतिथ्यता एवं प्रेस काउन्सिलका पुर्व अध्यक्ष नारायणप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा पुस्तकको समीक्षा गरिएको हो ।

त्यस अवसरमा बोल्ने बक्ताहरुले कम्लहरीका रुपमा अरुका घरमा बसेकाहरुले जीवनलाई बदलेकोप्रति प्रसंशा गर्दै सबैलाई अवसर दिनुपर्ने बताएका थिए । नेपाल युथ फाउण्डेसनका कार्यक्रम संयोजक मानबहादुर क्षेत्रीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा हालसम्म १२ हजार बढी कम्लहरीहरु मुक्त भएको बताइएको थियो । पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा कम्लहरी प्रथाको रहेको थियो ।

कम्लहरीको जीवन भोगाईका आधारमा पत्रकार दुर्गालाल केसीले ‘जीवन बदल्नेहरु’ २०७१ सालमा प्रकाशन गर्नुभएको थियो भने २०७४ सालमा दोस्रो सस्करण प्रकाशन भएको छ । पुस्तकका ५१ जना संघर्षशील कम्लहरीहरुको कथा समेटिएको छ । कार्यक्रममा बरिष्ठ साहित्यकार गिरीराज शर्मा, नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, युथ फाउण्डेसनका राज धमलाले बोल्नुभएको थियो ।

त्यस अवसरमा मुक्त कम्लहरीहरुले जीवन भोगाई ब्यक्त गरेका थिए । पत्रकार शरद अधिकारीले पुस्तकको चिनारी गराउनुभएको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार बसन्त विवश आचार्यले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७४ कार्तिक १२ गते आइतवार
प्रतिक्रिया