राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पारित

तुलसीपुर,२४ असोज ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक संसदबाट पारित भएको छ । मंगलबारको संसद बैठकले विधेयक पारित गरेको हो । संसदबाट पारित भएको विधेयकलाई राष्ट्रपतिले प्रमाणिकरण गरेपछि राजपत्रमा प्रकाशित हुनेछ र ऐनका रुपमा कार्यान्वयनमा आउने छ । यससँगै दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा औपचारिक रुपमा बदलिनेछ । प्रतिष्ठानमा चिकित्सा शिक्षा सम्वन्धी पढाइ हुनेछ ।

प्रतिष्ठानअन्तर्गत अस्पताल रहनेछ । प्रतिष्ठानको मुख्य कार्यालय घोराहीमा रहनेछ । त्यसका लागि नवलपुरमा रहेको झन्डै बीस बिघा सार्वजनिक जग्गा हस्तान्तरणको प्रक्रिया पनि थालिएको माओवादी केन्द्र दाङका इञ्चार्ज जीवन गौतमले जानकारी दिए । विधेयक पारित गर्ने भूमिका खेल्नका लागि दाङको सर्वदलीय सर्वपक्षीय समितिले गौतमलाई जिम्मा दिएको थियो ।

स्वास्थ्य मन्त्रालयले पनि गौतमलाई नै सहजकर्ता तोकेको थियो । अब तत्कालै प्रतिष्ठानको कुलपति नियुक्त गर्ने र प्रतिष्ठानको लागि आवश्यक कामलाई तीव्रता दिने गौतमले बताए ।

 

प्रकाशित मिति : २०७४ असोज २४ गते मङ्गलवार
प्रतिक्रिया