नेपालका पन्ध्र जिल्ला देख्न सकिने सल्यानको कुमाख

बुद्धिमान पुन, सल्यान १९ असोज ।

सल्यान जिल्ला धार्मिक तथा पर्यटकिय हिसाबले महत्वपूर्ण जिल्ला हो । यस जिल्लाको पहिचान झल्काउन यहाँका लेखबेशी, पाखापखेरा, तालतलैया, मठमन्दिर, जडीबुडी आदीले महत्वपूर्ण भूमिका खेलेका छन् । यहाँ रहेको कुमाख सल्यानीको पहिचान संग जोडिएको छ ।

समुन्द्री सतह बाट २ हजार ५ सय ३७ मिटर उचाइमा रहेको कुमाख बाट नेपालका १५ वटा जिल्ला देख्न सकिन्छ । यस्तै नेपालगञ्ज र भारतको रुपैडिया सम्मका दृश्यसम्म देख्न सकिन्छ । जिल्लाको कुमाखमालिका गाउपालिकामा रहेको यस कुमाख बाट पुर्वका धौलागिरी, सिस्ने, पुथा लगायत हिमाली क्षेत्रका अधिकांश हिमाल हेर्न सकिन्छ ।

यस्तै कुमाखबाट एकै पटक हिमाल देखि तराइसम्म अवलोकन गर्न सकिन्छ । संघिय संरचना निर्माणमा यस कै नामबाट एउटा स्थानिय तहको नाम पनि निर्माण भैसकेको छ । साबिक जिमाली, मर्मपरिकाँडा र सिद्धेश्वरीको केन्द्रमा रहेको डाँडो कुमाख पहाडका जगमा अन्य गाउहरु पनि थिए । अहिले जिमाली, मर्मपरिकाँडा, बडागाउ, स्वीकोट र कालागाउ मिलेर कुमाखमालिका गाउपालिका निर्माण भैसकेको छ ।

अहिले ढोरचौर र कुमाखमालिकाको विचमा पर्ने कुमाखमा कोजाग्रत पुर्णीमाको अवसरमा मेला लाग्ने गर्छ । यस कुमाख पहाडका विभिन्न स्थानमा दर्जनौ आकर्षक गुफा रहेको र जुन पर्यटकको गन्तव्यका रुपमा विकास गर्न सकिने स्थानीय बासिन्दा कर्ण चलाउनेले बताउनु भयो । ‘कुमाखको डाँडामा नै आकर्षक र रमणिय सिद्ध गुफा छ, जुन गुफामा पहिला पुजा तथा जलधारा चढाएर श्रद्धालुहरु कुमाखको टाकुरामा रहेको मन्दिरमा पुजा गर्न जाने गर्छन,’ उहाँले भन्नु भयो ।

गुफामा रहेका गाइका थुन जस्ता मानिने ढुंगाका थुनबाट बाह्रैमास पानी चुहिन्छन । टेक्दा टेक्दा बनेका केहि सिढि तथा पाइताबाट झरेपछि श्रद्धालुहरु आफुले लिएको धार ओढारमा बसेका पुजारीबाट पुजाआजा गराई सिद्धलाई धार हाल्छन । पानी बगेको जस्तै आवाज आउने र चिसो हावा आउने गुफाको सम्बन्धलाई कालागाउको थदरा र बाँझकाँडाको मोख्लाका गुफासंग जोडिन्छ ।

सिद्धको गुफाबाट कुकुर र विरालो ति २ स्थानबाट निस्किएको भन्दै अग्रजहरुले सुनाएको किवदन्ती स्थानिबासी सुनाउछन र उनिहरु ५० मिटर भन्दा भित्र प्रवेश गर्न नसकिने बताउछन । अहिले कुमाख सम्म जाने बाटोको स्तरउन्नती गरेर कुमाखलाई भ्यू टावर को रुपमा विकास गर्न सके कुमाखमा पर्यटकलाई भित्राउन सकिन्छन ।

कुमाख पहाडमा पहाडी जंगलमा महत्वपूर्ण जडिवुटी, वनस्पती र फूलहरुका साथै चराचुरुंगी र जनावरहरु पनि पाइन्छन । जुन नेपालकै लागि दुर्लभ तथा महत्वपूर्ण मानिन्छन । जैविक विविधताका हिसावले पनि राम्रो मानिन्छ ।

दशैमा पञ्चमी देखि कोजाग्रत पुर्णीमाको दिनसम्म सिद्ध मन्दिरमा पुजाआजा हुने गर्छ । भने कोजाग्रत पुर्णीमाका दिन त्यो भन्दा तल रहेको पडाडको फेदी रहेको समथर भुभाग रहेको पहाडमा मेला लाग्छ ।

जिल्लाकै ठुलो मेलाका रुपमा चिनिएको उक्त मेलामा स्थानिय लोक संस्कृति झल्कने विभिन्न खालका नाचहरु प्रदर्शन गर्ने गरिन्छ । सोरठी, पैसेरी, बन्गाडि टप्पा, झाप्रे, सरिंगे जस्ता नाच जिमाली, मर्मपरिकाँडा, बडागाउ, भल्चौर, थारमारे, बाझकाँडा, सिद्धेश्वरी, चाँदे र स्वीकोटका विभिन्न गाउबाट ल्याइन्छ ।

यस्तै कोजाग्रत पूर्णीमा कै दिन सल्यानका बिभिन्न स्थानमा मेला लाग्ने गर्दछ । जिल्लाको छत्रेश्वरी गाउपालिकामा रहेको सिद्धबाबा मन्दिर परिसरमा पनि मेला लाग्ने गर्दछ । जहाँ चाँदनी साततले गुफा, ढुंगेपानी, ढकढके ढुंगा, नागेश्वर बाबाको मन्दिर रहेका छन् । यस्तै पाथीभरा, पिपलनेटा लगाएतका स्थानमा पनि पूर्णिमाको दिनमा मेला लाग्ने गर्दछ ।

 

प्रकाशित मिति : २०७४ असोज १९ गते बिहिवार
प्रतिक्रिया