चुनावका लागि दलहरु रणनीति बनाउदै

असोज १६, २०७४  |  ६५ पटक पढिएको

काठमाण्डौं,१६ असोज ।
प्रदेश र प्रतिनीधि सभाको चुनावका लागि दलहरुले रणनीति बनाउन सुरु गरेका छन् । स्थानीय तहको निर्वाचन सकिएसँगै दलहरु अब मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि असोज अन्तिम साता दलहरुले उम्मेद्वारको नामावली निर्वाचन आयोगलाई बुझाउनुपर्ने छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रले सम्भावित उम्मेद्वारको नामावली केन्द्रमा पठाउन स्थानीय तहका मातहतका कमिटीलाई समयसिमा नै तोकेका छन् । दललका स्थानीय कमिटीले पनि सके सहमतिमा नभए आकांक्षीहरुको सुची केन्द्रमा पठाईरहेका छन् । दलहरुले अबको केही दिनमै स्थानीय कमिटीबाट आएका उम्मेद्वारको नाम केन्द्रबाट टुंगो लगाउने तयारी गरेका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले २२ गतेसम्म उम्मेदवार छनौट सक्ने जानकारी दिनुभयो ।

एमालेले यसअघि नै तय गरेको मापदण्ड अनुसार उम्मेदवार छनौट गरिरहेको प्रवक्ता यागेश भट्टराईले जानकारी दिनुभयो । माओवादी केन्द्रले भने केही ठाउँमा उम्मेद्वार छान्ने काम सकेर प्रचार प्रसार नै सुरु गरेको छ । राजपा लगायतका मधेसकेन्द्रित दलले भने छलफल सुरु गरेका छैनन । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची बुझाउन असोज २९ गतेसम्मको समय दिएको छ ।

प्रतिक्रिया दिनुहोस