यसकारण रोकीयो शिक्षक दरबन्दी मिलान

तुलसीपुर,१३ असोज । जिल्ला शिक्षा कार्यालयले जिल्लाका सामुदायिक विद्यालयहरुमा शिक्षक दरबन्दी मिलानको प्रयास गरेतापनि राजनैतिक हस्तक्षेपकै कारण रोकिएको छ । कुनै विद्यालयमा विद्यार्थी भन्दा बढी शिक्षक त कतै अपुग शिक्षक भएकाले दरबन्दी मिलानको प्रयास जिल्ला शिक्षा कार्यालये गरेको थियो ।

यस्तै दरबन्दी मिलान गर्दा योग्य शिक्षकहरुलाई विद्यालयको जिम्मेवारी सुम्पने उद्येश्य पनि जिशिकाले लिएको थियो । दरवन्दी मिलानका लागि प्राथामिक तहमा ५० , निम्न माध्यामिक तहमा ६ र माध्यामिक तहमा ९ गरी ६५ जनाको दरवन्दी मिलानको प्रक्रिया सुरु गरेको थियो । तर विभिन्न राजनैतिक दल सम्बद्ध पेशागत शिक्षक संगठनले भईसकेको सहमती पनि आफुअनुकुल नहुँदा कार्यान्वयन हुन दिएका छैनन् ।

लामो कसरत पश्चात दरबन्दी मिलानको कार्य अन्तिम अवस्थामा पुगीसक्दा पेशागत संगठनले अवरोध जनाएपनि जिल्लाका सामुदायिक विद्यालयले पुनः पुरानै समस्या झेल्नुपर्ने भएको छ । जिल्लामा अझै पनि १ सय ९ सामुदायिक विद्यालय शुन्य शिक्षक दरबन्दीमा सञ्चालन हुँदै आएका छन् । राज्यले माध्यमिक तहसम्मको शिक्षा निशुल्क घोषणा गरेपनि शुन्य दरबन्दी भएका विद्यालयको आर्थिक व्ययभार समुदायले व्यहोर्नुपर्ने बाध्यता छ ।

जिल्ला शिक्षा कार्यालयले बैशाख महिना देखि कार्यदल गरी अपुग दरबन्दी रहेका विद्यालयहरुको अवस्था बारे अध्ययन गरेर साउन २२ गते सम्म दरबन्दी मिलाउन टुँग्याउने तयारी गरेको थियो ।

प्रकाशित मिति : २०७४ असोज १३ गते शुक्रवार
प्रतिक्रिया