सल्यानमा सरकारी बिद्यालयको बिजोग : कक्षा कोठामा ‘घाम पानी’

असोज ०१, २०७४  |  ६९ पटक पढिएको

बुद्धि पुन, सल्यान १, असोज । “पानी परेको बेलामा कक्षा कोठामा पानी आउछ, घाम लागेको बेलामा पनि कक्षा कोठामा नै घाम आउछ,” यो भनाई हो सल्यानको छत्रेश्वरी गाउपालिका –५ लेखपोखरामा रहेको महेन्द्र माद्यामिक बिद्यालयका छात्रा निशा पुनको । उनी अहिले कक्षा पाँचमा पढ्छिन । उनले बिद्यालयको भबन जिर्ण भएका कारण आफुले पढ्ने कक्षा कोठामा नै घाम पानी आउने गरेको बताईन् ।

उनले कक्षामा सरले पढाउदा पढाउदैँ पानी परेमा सबै बिद्यार्थीहरु पढाई छोडेर घर जाने गरेको बताईन । “सरले पढाई रहनु भएको हुन्छ, कहिले गृहकार्य जाँच गरिरहनु भएको हुन्छ, पानी प¥यो भने सर र बिद्यार्थी सबै कोठा छोडेर जान्छौँ” उनले भनिन् । उनले अघि भनिन, “बर्षायाममा त राम्रो संग पढ्न नै पाईदैन्, बेला बेलामा पानी पर्छ, पानी नपरेको समयमा टिनको पातामा खिया लागेर प्वाँल परेको छ, सबै घास भित्र आउछ ।”

उनले टिनको पातामा खिया लागेर प्वाँल परेका कारण कहिले घाम कहिले पानीले समस्या हुने गरेको बताईन् । उनले भनिन, “बिद्यालयमा पढ्न गाह्रो हुन्छ, घरमा बिहान साँझ पढ्छु ।” “कक्षा कोठामा लगाएको टिनको पातामा खियाँ लागेका कारण कहिले घाम, कहिले पानी भित्र आउछ, पढाउन समस्या भएको छ,” सोही बिद्यालयका शिक्षक प्रेम बहादुर डाँगीले भन्नु भयो ।

उहाँले लामो समय सम्म पानी परेमा बिद्यालयको भवन नै भत्कने अबस्थामा रहेको बताउनु भयो । उहाँले भन्नु भयो “बिद्यालय भवन जिर्ण छ, आकाश बाट आएको सबै पानी भित्र जान्छ, कुन बेला भत्कने हो ठेगान छैन ।” “कक्षामा पढाई रहेका हुन्छौँ, पानी प¥यो भने भित्र बस्ने अबस्था हुदैँन, भुई पोखरी जस्तै भैहाल्छ, अनि बिद्यार्थीहरुलाई घर पठाउछौँ,” उहाँले अघि भन्नु भयो । बिद्यालयका प्रधानाध्यापक रोमहर्ष केसीले आफ्नो बिद्यालयको ६ कोठे भवन जिर्ण अबस्थामा रहेको बताउनु भयो ।

“यो भवन २०४६ सालमा निर्माण गरिएको हो, अहिले टिनको पातामा खिया लागेर ठूला ठूला प्वाँल परेको छ, घाम पानी सबै भित्र आउछ,” उहाँले भन्नु भयो । उहाँले छ कोठे भवनमा २, ३, ४ र ५ कक्षाका बिद्यार्थीले पढ्ने गरेको र बाँकी दुई कोठामा कार्यालयको सामाग्री राख्ने गरेको बताउनु भयो । “घाम पानी सबै भित्र जान्छ, पानीको त भित्र ताल नै भएको हुन्छ, कहिले भत्कने हो ठेगान छैन,” उहाँले भन्नु भयो । प्रधानाध्यापक केसीले खिया लागेको छाना फालेर नयाँ लगाए पनि समस्या समाधान हुने बताउनु भयो ।

“पुरानो टिन फालेर नयाँ टिन लगाए पछि भित्र घाम पानी जाने समस्या समाधान हुन्छ, तर बिद्यालय सँग पैसा छैन,” उहाँले भन्नु भयो । उहाँले बिद्यालय भबन जिर्ण भएका कारण पठनपाठनमा समस्या भएको बारेमा सरोकारवालाहरुलाई जानकारी गराएको बताउनु भयो । बिद्यालय भवन जिर्ण भएकै कारण पठनपाठनमा समस्या भएको बताउदैँ उहाँले भवन मर्मतको लागी सहयोग गर्न सबै सँग आग्रह गर्नु भयो ।

कक्षा दश सम्म सञ्चालन भएको यस बिद्यालयमा सबै ३ सय ६८ जना बिद्यार्थी रहेका छन् । भौतिक संरचना राम्रो नहुँदा जिल्लाका बिभिन्न बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई समस्या हुने गरेको छ ।।

प्रतिक्रिया दिनुहोस