गाईपालन बाट मासिक सहत्तरी हजार आम्दानी

भदौ २८, २०७४  |  १६३ पटक पढिएको

बुद्धिमान पुन,सल्यान २८ भदौ । केही बर्ष यता सल्यानमा ब्यबसायिक रुपमा गाईपालन गर्ने किसानहरुको संख्या बढ्दै गएको छ । गाईपालनको लागी राम्रो सम्भाबना भएको यस जिल्लामा अहिले गाईपालन गर्ने किसानहरुको संख्या बढ्दै गएको हो । यहाँ ब्यबसायिक गाईपालन बाट किसानहरुले मनग्य आम्दानी समेत लिन शुरु गरेका छन् ।

त्रिबेणी गाउपालिका १ काभ्राका किसान गोपाल थापाले ब्यबसायिक रुपमा गाईपालन गर्न शुरु गरेको लामो समय भएको छैन् । ४ बर्ष मलेसिया बसेर नेपाल फर्कनु भएका उहाँले शुरुमा काभ्रा बजारमा नै ईलेक्ट्रोनिक्स पसल खोलेर बस्नु भएको थियो । तर ब्यबसायिक कृषकको रुपमा चिनिने उद्देश्य बोकेका उहाँ ईलेक्ट्रोनिक्स पसल छोडेर ब्यबसायिक गाईपालन गर्न शुरु गर्नु भयो । अहिले उहाँ सँग ५ वटा जर्सी गाई रहेका छन् । ती मध्ये ३ वटा गाईले दूध दिने गरेका छन् ।

बिनोद कृषि तथा पशुपालन फर्म दर्ता गरेर उहाँले झण्डै १५ लाख बढीको लागतमा सुधारिएको गाई भकारो निर्माण र जर्सी गाई खरिद गर्नु भएको थियो । बिदेशमा पसिना बगाएर स्वदेश फर्कनु भएका उहाँले शुरुमा गाई फार्म खोलेर गाईपालन गर्न शुरु गर्दा छिमेकीले अच्चम मानेको थिए । अहिले गाईपालन बाट राम्रो आम्दानी हुन थाले पछि स्थानिय छक्क परेका छन् ।

अहिले एउटा गाईले एक दिनमा अठार लिटर बढी दूध दिने गरेको थापाले बताउनु भयो । “अहिले म संग भएका ३ वटा गाईले दूध दिन्छन्,” उहाँले भन्नु भयो–“एउटा गाईले एक दिनमा अठार लिटर बढी दूध दिन्छ ।” उहाँले गाईको दूध अहिले स्थानिय बजारमा नै खपत हुने गरेको बताउनु भयो ।

“दुध, दहि बिक्रीको लागी अहिले कुनै समस्या छैन्,” उहाँले भन्नु भयो –“सबै स्थाानिय बजारमा नै खपत हुन्छ ।” उहाँले अहिले दहि दुध बिक्री बाट मासिक सहत्तरी हजार बढी आम्दानी हुने गरेको बताउनु भयो । “गाईपालन बाट राम्रो आम्दानी भएको छ, सबै गरेर मासिक सहत्तरी हजार जती आम्दानी हुन्छ, दानापानी, घाँस, छोराहरुको पढाई खर्च र पारिवारिक खर्च सबै कटाएर महिनामा बीस हजार बढी बचत हुन्छ”– उहाँले भन्नु भयो ।
उहाँले गाईपालनको लागी कुनै समस्या नभएको बताउनु भयो । “अहिले सम्म गाईपालनमा कुनै समस्या भएको थाहा पाएको छैन, सात रोपनी जग्गा भाडामा लिएर घाँस खेती गरेको छु, घाँस दाना पानीको पनि कुनै समस्या छैन” उहाँले भन्नु भयो – “सोचे भन्दा पनि राम्रो भयो ब्यबसाय ।” उहाँले आफुलाई गाईपालन गर्दा कुनै पनि निकायले सहयोग नगरेको गुणासो गर्नु भयो । “जिल्ला पशु सेवा कार्यालयले गाई ढुवानीको खर्च दियो, आर.आर.एन. नामक संस्थाले ८ बोरा सिमेन्ट दियो” उहाँले भन्नु भयो –“ त्यो बाहेक अन्य कुनै पनि निकाय बाट सहयोग पाएको छैन ।” उहाँले आधा बैँक बाट लोन लिएर र बाँकी आफ्नै लगानीमा गाई फार्म सञ्चालन गर्नु भएको हो ।

थापाले फार्ममा अझै जर्सीगाई को संख्या बढाउने बताउनु भयो । “म सँग अहिले ५ वटा गाई मात्रै छ, तर मैले निर्माण गरेको आधुनिक गाई भकारोको क्षमता झण्डै १० वटा गाई अटाउन सक्ने क्षमताको छ,” उहाँले भन्नु भयो –“मैले फार्ममा गाईको संख्या बढाउने सोच गरेको छु ।”
उहाँले रोजगारीको लागी बिदेश जाने यूवाहरुलाई स्वदेशमा नै बसेर काम गर्न सुझाब दिनु हुन्छ ।

“बिदेशमा गर्ने जती श्रम र पसिना स्वेदशमा नै बगाउनु होस, गरे के हुर्दैन र ?” उहाँले भन्नु भयो – “यहाँ नेपालमा नै सुन फल्छ ।” उहाँले बिदेश जानु भन्दा बिभिन्न निकाय सँग सहकार्य गरेर ब्यबसाय सञ्चालन गर्न सके यहाँ राम्रो आम्दानी हुने गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस