सल्यानका ९० प्रतिशत जनता टेलीफोनको पहुंचमा

बुद्धिमान पुन, सल्यान २१ भदौ । सञ्चारको एक भर पर्दो माध्यम टेलिफोन हो । छिटो, छरितो र गोप्य रुपमा सुचना लिन र दिन पनि टेलिफोनको प्रयोग गरिन्छ । यसले एक ठाउँको कुरालाई अर्को ठाँउमा  प¥याउन सहयोग गर्दछ । पछिल्लो समय सल्यानमा टेलिफोन प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको छ ।

जिल्लाको उत्तरीपश्चिमी क्षेत्रमा राम्रो संग फोनले काम नगरे पनि अन्य ठाउँमा भने राम्रो काम गर्ने गरेको नेपाल टेलिकम सल्यानले जनाएको छ । अहिले जिल्लाका ९० प्रतिशत भन्दा बढी जनता टेलिफोन सेवाको पहुँचमा रहेको नेपाल टेलिकम सल्यानले जनाएको हो । जिल्लाको प्राय सबै ठाउँमा टेलिफोन सेवाको पहुँच भए पनि उत्तरी – पश्चिमी क्षेत्रको केही ठाउँमा टेलिफानले राम्रो संग काम नगर्ने गरेको नेपाल टेलिकम सल्यान शाखाका निमित्त कार्यालय प्रमुख लोकमान वलीले जानकारी दिनु भयो ।

उहाँले जिल्लाका अन्य सबै ठाउँमा भने टेलिफोनको पहुँच रहेको बताउनु भयो । “जिल्लाका विभिन्न स्थानमा विस्तार गरिएको टेलिफोन टावरसँगै सेवा विस्तार भएको छ,” उहाँले भन्नु भयो । यस बर्ष जिल्लाको जयतपानी लगाएतका बिभिन्न स्थानमा नयाँ टावर स्थापना गर्ने गरी काम शुरु भएको र टावर निर्माण पछि सेवामा सुधार आउने उहाँले बताउनु भयो ।

वलीले ती बिभिन्न ठाउँहरुमा नयाँ टावर निर्माणको लागी सर्वे लगाएतका काम सकिएको बताउनु भयो । उहाँले नयाँ टावर थप्ने काम शुरु भैसकेकाले जिल्लामा टेलिफोनको पहुँचमा बृद्धि हुने बताउनु भयो । नेपाल टेलिकम सल्यान शाखाले अघिल्लो आर्थिक बर्षमा जिल्लाका साबिकका ४७ वटै गाबिसका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई निःशुल्क सिम वितरण गरेको थियो ।

प्रकाशित मिति : २०७४ भाद्र २१ गते बुधवार
प्रतिक्रिया