पिएसजी गए नेइमार, १० नम्बर जर्सीमा देखिने

 

साउन २० । स्पेनिस क्लब बार्सिलोनका ब्राजिलियन स्टार स्ट्राइकर नेइमार अहिलेसम्मकै धेरै रकममा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित भएका छन् । नेइमार  २२ करोड २० लाख युरोमा पिएसजी गएका हुन् । पिएसजीमा नेइमारले १० नम्बर जर्सीमा खेल्नेछन् ।

उनले आउँदो शनिबार पिएसजीबाट पहिलो खेल एमियन्सविरुद्ध खेल्ने भएका छन् । शुक्रबारदेखि नै उनी पिएसजीका आधिकारिक खेलाडी भएका छन् ।  

विश्व कीर्तिमानी मूल्यमा पिएसजी गएका नेइमारले त्यहाँ हप्ताको ८ लाख ६५ हजार युरो पारिश्रमिक पाउने छन् । यसको अर्थ २५ वर्षका नेइमारले पिएसजीबाट करसहित वर्षको चार करोड ५० लाख युरो पारिश्रमिक पाउने छन् ।  

पिएसजीले नेइमारसँग पाँच वर्षको सम्झौता गरेको छ । अनुबन्धित भएसँगै नेइमारले आफू युरोपकै एक महत्वपूणै क्लबमा आएको बताएका थिए । ‘पिएसजीको महत्वपूर्ण योजनाहरुले म आकर्षित भएको हुँ, म आजैदेखि जस्तोसुकै चुनौती सामना गर्न तयार छु’ उनले भने ।

प्रकाशित मिति : २०७४ साउन २० गते शुक्रवार
प्रतिक्रिया