तुलसीपुरका सवै नागरिकलाई प्रहरी बनाउँछु : डिएसपी सिंह

  असार २३, २०७७

तुलसीपुर, २३ असार ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले तुलसीपुरका सवै नागरिकलाई बर्दि बिनाको प्रहरी बनाउने योजनालाई अघि सारेका छन् । सोहि अनुरुप अहिले अभियान चलाईरहेको डिएसपी सिंहले बताएका छन् ।तुलसीपुर क्षेत्रका प्रत्येक नागरिक बर्दि बिनाको प्रहरी भएपछि मात्रै आफनो सुरक्षा आफै गर्न सक्ने र समाजमा शान्ती कायम हुने उनको भनाई छ ।
बर्दि लगाएको प्रहरीले मात्रै समाजमा शान्ती सुरक्षा दिन नसक्ने भन्दै बर्दि बिनाका नागरिक पनि प्रहरी बन्न सकेमा मात्रै शान्ती सुरक्षा कायम हुने उनको विश्वास रहेको छ । बाँकेबाट केहि महिना अघि सरुवा भई तुलसीपुर आएका डिएसपी सिंहले प्रत्येक गाउँ बस्तीमा पुगेर नागरिकलाई प्रहरी बनाउने बताएका छन् ।समाजमा हुने विभिन्न खाले अपराधीक क्रियाकलाप र लागु औषध दुव्र्यसनी जस्ता गतिविधिलाई रोक्न नागरिकले प्रहरीलाई पुर्ण रुपमा सहयोग गर्नुपर्ने उनको भनाई छ । प्रहरीलाई भन्दा छिटो स्थानिय नागरिकलाई नै घटनाको विषयमा थाहा हुने भन्दै हरेक नागरिक सचेत र जिम्मेवार भई प्रहरीलाई सहि सुचना दिनुपर्ने डिएसपी सिंहले बताएका छन् ।

Advertisement

नागरिकको सहयोग पाएमा आफुले तुलसीपुर क्षेत्रमा लागु औषध दुव्र्यसनी र गुन्डागर्दी गर्ने समुहलाई निस्तेज पार्ने उनको दावी छ । लागु औषध दुव्र्यसनी र गुन्डागर्दी गर्दै हिड्ने अधिकांस चुल्ठे, मुन्द्रे भएको भन्दै अहिले उनीहरुको लामो कपाल काट्ने र कानका लगाएका मुन्द्रा फाल्न लगाउने अभियानलाई तिव्र पारेको प्रहरी नायव उपरिक्षक सिंहले बताएका छन् । आफु तुलसीपुर आएदेखी नै अपराधिक गतिविधि रोक्ने विषयमा विशेष अप्रेशन चलाएको बताउदै उनले नागरिकको साथ पाएमा हरेक गाउँबस्तीमा शान्ती सुरक्षा कायम गर्ने उनको दावी छ ।
अभिभावक र शिक्षकलाई थुन्ने अभियान
पछिल्नो समयमा धेरैजसो बालबालिकाहरु लागु औषध दुव्र्यसनीमा लागेको प्रहरीको निष्कर्ष रहेको छ । जसले गर्दा अपराधिक घटना हुनुको कारण मध्ये कुलत पनि एक भएको प्रहरीको दावी छ । प्रहरीले अहिले लागु औषध दुव्र्यसनीको अड्डा र गुन्डागर्दी गर्ने स्थानको पहिचानमा लागेर त्यस्ता व्यक्ति र बालबालिकाको विवरण संकलन कार्य सुरु गरेको छ । जसले गर्दा ती कुलतमा फसेका बालबालिका र उनका अभिभावकलाई सम्पर्कमा ल्याएर एक पटकलाई सम्झाई बुझाई गर्ने, दोस्रो पटक उनका अभिभावकलाई नियन्त्रणमा लिने र कुलतमा फसेका बालबालिकालाई सम्वन्धित अभिभावकले लागत खर्च व्यहोर्ने गरी सुधार केन्द्रमा राख्न लगाउने अभियान चलाउने ईलाका प्रहरी कार्यालय तुलसीपुरको तयारी छ ।
अभिभावकले छोराछोरी जन्माएर,पालनपोषण गरेर मात्रै नहुने भन्दै ती छोराछोरीको हरेक गतिविधि र आनीबानीको रेखदेख गर्नु दायीत्व भएकाले जसले आफना छोराछोरीको जिम्मा लिदैन त्यस्ता अभिभावकलाई कारवाही गर्ने योजना प्रहरीले बनाएको छ । छोराछोरीले लागु औषध सेवन गर्ने ,त्यसको जिम्मा अभिभावकले नलिएर प्रहरीले जिम्मा लिन नसक्ने प्रहरीको भनाई छ । यसका लागी स्वंयम अभिभावक जिम्मेवार र चनाखो बन्न जरुरी छ ।

Advertisement

यस्तैगरी बालबालिकाको भविस्य बनाउने शिक्षकले दिनभरी कक्षाकोठा भित्र विद्यार्थीहरुलाई शिक्षा दिएपनि कक्षाकोठाको गेट बाहिर आएर धम्रपान र मद्यपान सेवन गरेको पाईएको बताउदै प्रहरीले अव त्यस्ता शिक्षकहरु माथी अप्रेशन सुरु गरी उनीहरुलाई पनि कारवाही गर्ने चेतावनी दिएको छ । विद्यार्थीहरु विद्यालय समय र विद्यालय वरपर लागु औषध दुव्र्यसनीमा फसेको थाहा पाएमा शिक्षकलाई नै कारवाही गरिने प्रहरीको योजना छ । बालबालिकाहरु घरमा विग्रिए अभिभावक र विद्यालयमा गएको समयमा बिग्रिएमा त्यसको जिम्मा शिक्षकले लिनुपर्ने प्रहरीको निष्कर्ष रहेको छ ।

प्रतिक्रिया दिनुहोस