भारतमा एकै दिन ६ हजार बढी संक्रमित

तुलसीपुर, ७ जेठ

भारतमा कोरोना भाइरसबाट एकै दिन ६ हजार बढी संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ६ हजार १४७ जना संक्रमित थपिएका हुन् । भारतमा एक दिनमा थपिएको संक्रमितको संख्या यो अहिलेसम्मकै बढी हो । यसअघि त्यहाँ २४ घण्टामा सबैभन्दा बढी ५ हजार ५० जना थपिएको तथ्यांक छ ।

योसँगै भारतमा कुल संक्रमितको संख्या १ लाख ६ हजार ४ सय नाघेको छ । जसमध्ये ४२ हजार ३ सय उपचारपछि निको हुँदा ३ हजार ३ सय संक्रमितले ज्यान गुमाएका छन् । गत २४ घण्टामा भारतमा १ सय ४६ जनाको मृत्यु भएको छ ।

अघिल्लो दिनको तुलानामा त्यहाँ संक्रमित र मृत्यु हुनेको संख्या बढेको छ । सोमबार भारतमा ४ हजार ६ सय नयाँ संक्रमित थपिँदा १ सय ३१ जनाले ज्यान गुमाएका थिए ।

गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको कोरोनाबाट अहिलेसम्म ४९ लाख ८२ हजार व्यक्ति संक्रमित भएका छन् । जसमध्ये १९ लाख ५६ हजार व्यक्ति उपचारपछि स्वस्थ्य हुँदा ३ लाख २४ हजार व्यक्तिको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ७ गते बुधवार
प्रतिक्रिया