कोरोनाको संक्रमणबाट कंगोका पूर्वराष्ट्रपतिकाे मृत्यु

शिलापत्र , १८ चैत्र

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट कंगोका पूर्वराष्ट्रपति जाँ ज्याक्स जोचिम योहोम्बी ओपांगीको ८१ वर्षको उमेरमा निधन भएको छ ।

कोरोना भाइरस संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएका उनको मृत्यु भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरस संक्रमण हुनुअघि देखि नै उनी संक्रमित रहेका थिए । उनी सन् १९७७ देखि १९७९ सम्म कंगोका राष्ट्रपति बनेका थिए । उनी सन् १९७९ मा सत्ताच्युत भएका थिए ।

सेनाका अधिकारी समेत रहेका ज्याक्स राष्ट्रपति मरियन एन्गौबीको हत्यापछि सत्तामा आएका थिए । उनलाई कंगोमा लामो समय शासन चलाएका डेनिस सासौ एन्गुएसोले पदच्यूत गरेका थिए ।

 

पदच्युत गरिएपछि उनीमाथि डेनिसको सरकार ढाल्न ‘कू’ को प्रयास गरेको आरोपमा सन् १९८७ देखि १९९० सम्म जेलमा हालिएको थियो ।

सन् १९९१ मा मुलुकमा बहुदलीय शासन व्यवस्था लागू भएपछि उनी जेलबाट रिहा भएका थिए । त्यसपछि उनले र्‍याली फर डेमोक्रेसी एण्ड डेभलेपमेन्ट नामको पार्टी स्थापना गरे ।

उनी सन् १९९२ को राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनेपनि उनी पराजित भएका थिए । उनले निर्वा्चित राष्ट्रपति पास्कल लिसोबासँग गठबन्धन बनाउँदै सन् १९९४ देखि १९९६ सम्म कंगोको प्रधानमन्त्री बने ।

सन् १९९७ मा कंगोमा गृहयुद्ध सुरु भएपछि ज्याक्स फ्रान्समा निर्वा्सित जीवन बिताएर सन् २००७ मा कंगो फर्किएका थिए ।

त्यसपछि स्वास्थ्य समस्या आएपछि उनी फ्रान्स निरन्तर आउने गरेका थिए । पछिल्लो समयमा फ्रान्समै रहेका बेला उनको निधन भएको एएफपीले उल्लेख गरेको छ ।

 

प्रकाशित मिति : २०७६ चैत्र १८ गते मङ्गलवार
प्रतिक्रिया