छत्तीस सय किलोमिटर सडक कालोपत्रे , ३२५ पुल निर्माण

काठमाडौँ, माघ २९  ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको दुई वर्षमा तीन हजार ६३६ किलोमिटर सडक कालोपत्र र ३२५ पुल निर्माण भएको छ । सरकारले पूर्वाधार विकासमा उच्च प्राथमिकता दिँदा गत वर्ष झण्डै एक हजार किमी सडक निर्माण भएको थियो गत वर्ष नै सडक विभागले २४३ पुल निर्माण सम्पन्न भएको थियो ।

सडक विभागले चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मात्रै ४१ वटा सडक पुल निर्माण सम्पन्न भएको जानकारी दिएको छ । पहिलो चौमासिकमा पाँच पुल सम्पन्न गर्ने लक्ष्य लिइएकामा त्योभन्दा सात गुणाबढी सम्पन्न भएको सडक विभाग, पुल महाशाखा प्रमुख दीपक भट्टराईले बताउनुभयो । चालू आवमा ३०० सम्पन्न गर्ने लक्ष्य लिएको छ । उहाँले भन्नुभयो, “हाल झण्डै एक हजारभन्दा बढी पुल निर्माणाधीन भएकाले लक्ष्यमा पुगिन्छ भन्ने लागेको छ ।”

पछिल्लो दुई वर्षमा नै तीन हजार ५७९ किमी सडक ग्राभेल भएको सडक विभागको तथ्याङ्कले देखाएको छ । सरकारले नयाँ सडकमा एक लेनको निर्माण नगर्ने दुई वर्ष पहिले निर्णय गरेको थियो । नयाँ निर्माण भइरहेका सडक दुई लेन वा त्योभन्दा बढी लेनमा निर्माण भइरहेको र पहिले निर्माण भएका सडकको स्तरोन्नतिको काम भइरहेको छ । पूर्व–पश्चिम राजमार्गलाई उच्च गति तथा क्षमताको चार तथा छ लेनको राजमार्गमा स्तरोन्नति गर्ने काम शुरु भएको छ । धुलिखेल–सिन्धुली–बर्दिवास सडक पनि विस्तारको योजना बनिरहेको आयोजना निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन ४ गते आइतवार
प्रतिक्रिया