महिला प्रहरीको राईफल खोसेर आफैँलाई गोली प्रहार

फाईल फोटो

बिमला पाण्डे
सिन्धुली । प्रेम दिवसमा आफुले राखेको प्रेम प्रस्ताव अस्वीकार भएपछि शुक्रबार बिहान साढे सात बजे सिविल ड्रेसमा रहेका प्रहरी जवानले ड्युटीमा रहेकी महिला प्रहरीको थ्रिनटथ्रि राईफल तानी आफैँलाई गोली हानेर आत्महत्याको प्रयास गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान रामनगर बहुअर्वा गाउँपालिका वडा नं. ६ घर भएका २२ वर्षीय चन्द्रकिशोर रायले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको निवासको गेटमा ड्युटीमा रहेकी एक महिला प्रहरीको राईफल तानी आफैँलाई गोली हानेका हुन् ।

बन्दुकको गोली पेटको दाहिने कोखामा लागेर उनी शक्त घाइते भएका छन् । रायको सिन्धुली अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि प्रहरी अस्पताल काठमाडौँ रिफर गरिएको सिन्धुली अस्पतालले जनाएको छ ।

ड्युटीमा रहेकी प्रहरी जवान महिलाको राईफल खोसी आफैँलाई गोली हानेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएपी श्याम बहादुर खत्रीले घाइते प्रहरी जवानले आफैँले आफैँलाई गोली हानेको स्वीकार गरेको बताएका छन् । उनले घटनाको थप अनुसन्धान भइरहेको बताए ।

उनले भने, ‘हस्पिटलमा उपचाररत रहँदा घाइते प्रहरी बोलिरहेका थिए । उनले ‘मैले आफैँ गोली हानेको हुँ’ भनेका छन् । ‘हामीले भिडियो समेत खिचेका छौं ।’ स्रोतका अनुसार ती महिला प्रहरीलाई रायले निकै नै मन पराउँथे र विवाह गर्ने समेत जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जानकारी गराएका थिए । सोहि कारणले भ्यालेन्टाइन डेको दिन बिहानै घटना भएको हुन सक्ने स्रोतले जनायो । तर जिल्ला प्रहरी कार्यालय सिन्धुलीले भने यो विषयमा केहि खुलाउन चाहेको छैन ।

प्रकाशित मिति : २०७६ फाल्गुन २ गते शुक्रवार
प्रतिक्रिया