तुलसीपुर प्रशासन कार्यालय २५ वर्ष पछि आफनै भवनमा, कार्यालयबाटै सेवा सुरु

तुलसीपुर १ फागुण ।

दाङ तुलसीपुर ईलाका प्रशासन कार्यालयले स्थापना भएको २५ वर्ष पछि आफनै भवनबाट सेवा सुभारम्भ गरेको छ । तुलसीपुर ५ राप्ती प्रादेशिक अस्पताल देखी उत्तर तर्फ रहेको आफनै जग्गामा नवनिर्मित सुविधा सम्पन्न नयाँ भवनबाट कार्यालयले सेवा सुभारम्भ गरेको हो ।
तुलसीपुर ९ दोघरेबाट सेवा दिदै आएको कार्यालयले विहिवार देखी औपचारिक रुपमै तुलसीपुर स्थित आफनै भवनबाट सेवा सुभारम्भ गरेको हो । ईलाका प्रशासन कार्यालय तुलसीपुरमा स्थापना भएको २५ वर्ष पछि आफनै भवनबाट कार्यालय सन्चालन गरेको हो । यस अघि कार्यालयले कोठा भाडामा लिएर सेवा दिदै आएको थियो ।

यसैविच सेवा सुभारम्भको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले गरेका हुन् । प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको अध्यक्षतामा भएको सेवा सुभारम्भ कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका नगरप्रमुख पाण्डेले सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्न आग्रह गरेका छन् । उनले संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भईसकेको अवस्थामा नागरिकले सहज रुपमा सेवा पाउनुपर्ने बताएका छन् । जनता संग जोडिने सम्वन्धित निकाय, सामाजिक संघसंस्था, कार्यालयलाई शक्तिशाली र प्रभावकारी बनाउन नगरप्रमुख पाण्डेले कर्मचारी प्रशासनलाई निर्देशन दिएका छन् । साथै उनले सेवा प्रवाहमा जनशक्ति तथा अन्य भौतिक समस्या भएमा आफुले सक्दो पहल गर्ने समेत बताएका थिए ।

सो अवसरमा भवन निर्माण समितिका अध्यक्ष खुमानन्द अधिकारी, राष्ट्रिय समाचार समिति तुलसीपुरका प्रमुख नारायणी रजौरे लगाएतले सेवाग्राहीलाई सहज रुपमा सेवा दिन आग्रह गरेका थिए । ईलाका प्रशासन कार्यालय तुलसीपुरको नाममा रहेको ६७७.२६ (छ सय सतहत्तर दशमलव छब्विस)वर्गमिटर जग्गा भित्र दुई करोड ५८ लाख ९१ हजार १ सय ३० रुपैया लागतमा दुई तलामा १६ कोठाको सुविधा सम्पन्न भवन निर्माण गरिएको छ । भवन निर्माणको लागी जुद्ध एण्ड पुर्ण निर्माण सेवाले जिम्मा पाएको थियो ।

निर्माण कम्पनीले २०७६ असार २५ गते सम्म काम सक्ने गरी २०७४ असार २५ गते सम्झौता गरे पनि निर्धारित समयमा काम नसकेपछि ९० दिन समय थप गरी गत असोज २० गते निर्माण कार्य सम्पन्न भएको कार्यालयका निमित्त प्रमुख श्रीधर टण्डनले बताएका छन् । कार्यालयको कम्पाउण्ड लगाएतका अझै केहि काम बाँकी रहेकाले उक्त कार्यका लागी टेण्डर प्रक्रिया अघि बढाईएको निमित्त प्रमुख टण्डनले बताएका छन् ।

प्रकाशित मिति : २०७६ फाल्गुन १ गते बिहिवार
प्रतिक्रिया