कोरोनाभाइरसका कारण एकैदिन १०३ जनाको मृत्यु

माघ २८, २०७६  

बीबीसी, २८ माघ

Advertisement

चीनमा फैलिएको नयाँ कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु मानिने हुबे प्रान्तमा सोमवार १०३ जनाको मृत्यु भएको छ।उक्त प्रकोप फैलिएपछि एकैदिनमा मृत्यु हुने बिरामीको यो सर्वा्धिक सङ्ख्या हो।

Advertisement

यससँगै कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसको सङ्ख्या १,००० नाघेको छ।  चीन सरकारले प्रकोप नियन्त्रणका लागि परिचालित केही वरिष्ठ अधिकारीहरूलाई कारबाही गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टीबाट हुबे स्वास्थ्य आयोगमा खटाइएका पार्टी सचिव तथा उक्त आयोगका प्रमुख घटुवामा परेका छन्।

Advertisement

त्यसैगरी चन्दा हिनामिना गरेको आशङ्कामा स्थानीय रेडक्रसका सहायक निर्देशक पनि पदमुक्त भएका छन्।

नयाँ सङ्क्रमण घट्दो
सोमवार एकैदिन १०३ जनाको मृत्यु भएको भए पनि नयाँ सङ्क्रमणको सङ्ख्या अघिल्लो दिनको भन्दा २० प्रतिशतले घटेको छ।
हुबेको स्वास्थ्य आयोगले सोमवार उक्त प्रान्तमा २,०९७ जनामा नयाँ सङ्क्रमण भएको पुष्टि गरेको छ।

अघिल्लो दिन २,६१८ जनामा नयाँ सङ्क्रमण भएको थियो। अहिले चीनमा उक्त भाइरसको सङ्क्रमण भएका कम्तीमा ४२,२०० व्यक्ति छन्।

चीनको स्थिति
हुबे प्रान्तको स्वास्थ्य आयोगले सोमवार १०३ जनाको मृत्यु भएको जनाएको छ। आइतवार मृत्यु हुनेको सङ्ख्या ९७ थियो। आयोगका अनुसार हुबेमा मात्र ३१,७२८ जना कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएका बिरामी छन्।

उक्त प्रान्तमा सोमवारसम्म मृत्यु हुनेको कुल सङ्ख्या ९७४ पुगेको छ। त्यहाँ बिरामीको मृत्युदर तीन प्रतिशत रहेको छ। चीनभरि भने कुल मृतकको सङ्ख्या १,०११ पुगेको छ। चीनबाहिर दुई जनाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस