प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकारेपछि‘……………

बीबीसी

“हाम्रो बिहेको कुरा चलिरहेको थियो। तर उसको परिवारले कुनै न कुनै समस्या सिर्जना गरिरहन्थ्यो। उनीहरूले तिनीजस्तै म सरकारी जागिरे नभएको भन्थे। त्यसैले मैले तिनलाई सिध्याइदिएँ।“

भारतको चन्डीगढबाट प्रसारित हुने एउटा टेलिभिजनको प्रत्यक्ष प्रसारणको कार्यक्रममा २७ वर्षीय मनिन्दर सिंहले यिनै शब्दमार्फत्‌ अपराध स्वीकार गरे।

प्रत्यक्ष प्रसारण हुने उक्त कार्यक्रममा मङ्गलवार मनिन्दरले बताए अनुसार सन् २०१९ को डिसेम्बर ३० तारिखमा उनले आफ्नी प्रेमिका सरबजीत कौरको हत्या गरेका थिए।

टेलिभिजन कार्यक्रममार्फत्‌ अपराध स्वीकार गरेको केही समयपछि उनलाई प्रहरीले पक्राउ गर्‍यो।

चन्डीगढको औद्योगिक क्षेत्रमा पर्ने एउटा होटलमा धारिलो हतियारको प्रयोग गरी मनिन्दरले आफ्नी प्रेमिकाको हत्या गरेका थिए। त्यसयता उनी फरार थिए। यो घटनाभन्दा अघिको एउटा हत्यासम्बन्धी मुद्दामा मनिन्दर जमानतमा रिहा भएका थिए। प्रहरीका अनुसार सन् २०१० मा पनि उनले हरियाणामा अर्की प्रेमिकाको हत्या गरेका थिए।

टेलिभिजनका एक वरिष्ठ कर्मचारीका अनुसार प्रहरी चौकीदेखि करिब तीन किलोमिटर टाढा रहेको स्टेशनसम्म मनिन्दर आफै आइपुगेका थिए।
ती कर्मचारीले भने, “कार्यालयबाहिर उभिएका हाम्रा क्यामेराम्यानलाई उनले आफूले एक महिलाको हत्या गरेको भने।“

“पंजाबमा रहेको आफ्ना परिवारका सदस्यलाई प्रहरीले दुःख दिने गरेकाले आफूले आत्मसमर्पण गर्न चाहेको बताए।“

मनिन्दरको कुरा सुनेपछि ती क्यामेराम्यानले सो टेलिभिजनका लागि अपराध मामिला हेर्ने संवाददातालाई बोलाए। अन्य कर्मचारीबीच छलफल भएपछि उनलाई स्टुडिओभित्र लगियो। “त्यही समयमा हामीले टेलिभिजन कार्यालयबाट प्रहरीलाई फोन पनि गर्‍यौँ,“ ती कर्मचारीले बीबीसीलाई भने।

प्रकाशित मिति : २०७६ माघ ४ गते शनिवार
प्रतिक्रिया