अमिताभ बच्चनले दिए ‘रिटायर’ हुने संकेत

मसिर २२

भारतीय अभिनेता अमिताभ बच्चनले अब ‘रिटायर’ हुने मनस्थिति बनाएका छन् । बच्चनले उनको ‘ब्लग’ मार्फत रिटायरमेन्टको संकेत दिएका हुन् । बच्चनले लेखेका छन्, ‘अब मैले रिटायर्ड हुनुपर्छ, मेरो दिमागले एउटा कुरा गरिरहेको छ भने मेरो औँलाहरुले अर्कै, यो एउटा संकेत हो ।’

केही समयअघि देखि बच्चनको स्वास्थ्यमा समस्या आइरहेको थियो । गएको अक्टोबर महिनामा पनि उनी अस्पताल भर्ना भएको खबर सार्वजनिक भएको थियो । केही दिन आराम गरेर उनले फेरि ‘कौन बनेगा करोडपति ११’ को छायाँकन सुरु गरेका थिए । तर त्यसपछि पनि उनको स्वास्थ्यमा पटक पटक समस्या भएको खबरहरु आएका थिए ।

‘कौन बनेगा करोडपति ११’ को छायाँकन सकिएलगत्तै बीचमा विश्राम नै नलिइ उनी चलचित्र ‘ब्रह्मास्त्र’ को छायाँकनका लागि मनाली गएका छन् । त्यहाँको मौसम खराब भएपछि बच्चन हवाई मार्गको सट्टा सडक मार्गबाटै मनाली गएका थिए । मनालीसम्मको १२ घण्टाको लामो यात्राबाट थकित भएका बच्चनले अब रिटायरमेन्टतर्फ इसारा दिएको खबर यतिबेला भारतीय सञ्चारमाध्यमा आइरहेका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर २२ गते आइतवार
प्रतिक्रिया