स्थानीय सरकार र सामुदायीक वनकाे सहकार्य आवश्यक

शंकर के सी,

सल्यान, १६ मंशिर । मानव जीवनसँग प्रत्यक्ष जोडिएको वनजंगलमा स्थानीय समुदायको अधिकार स्थापित भएमा मात्रै समृद्धि भेटाउन सकिने कुरामा एक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । स्थानीय सरकार र सामुदायीक वन क्षेत्रको सहकार्यमा आर्थिक समृद्धिका लागी विशेष योजना ल्याउन आवश्यक देखिएको सल्यानमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले बताएका हुन् ।

सोमबार सल्यानको कपुरकोटमा सामुदायीक वनको अधिकार र समृद्धिका अवसर तथा चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले वनमा आधारीत उद्यमको विकास गरेमा मात्रै रोजगारि श्रृजना हुने बताए । सामुदायीक वन उपभोक्ता महासंघ कर्णाली प्रदेशको सक्रियता र सामुदायीक वन उपभोक्ता महासंघ कपुरकोटको आयोजनामा कार्यक्रम भएको हो । अन्तरक्रियामा तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले जगडबटुी, रुखको व्यवशायीकरण र पर्यटन प्रवद्र्धन अति आवश्यक रहेको बताए । सामुदायीक वन उपभोक्ता महासंघका पूर्व अध्यक्ष तथा निवर्तमान सल्लाहकार समेत रहेका पाण्डेले कुनै न कुनै तरिकाले वन संग जोडिएको उद्यमको विकास गर्नुपर्ने उत्पादित वस्तुको बजारिकरणमा स्थानीय सरकारले वातावरण श्रृजना गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले समृद्ध नेपाल र सुखी नेपालिको लक्ष्यलाई वन जंगलको विकासबाट प्राप्त गर्न सकिने बताए । उनले काठ मात्रै वनको धन हो भन्ने सोँचाई राख्न नहुने बताउदै वनबाट प्राप्त हुने जडिबुटी, वनस्पती तथा वन्यजन्तुको समेत लेखाजोखा गर्नुपर्ने धारणा राखे । कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका उनले वन संग सम्बन्धीत हरेक गतीविधि तथा क्रियाकलाप स्थानीय सरकार संगको समन्वयमा हुनुपर्ने बताए ।

कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, वन महासंघ कर्णालीका अध्यक्ष घनश्याम शर्मा, कपुरकोटका ६ वटै वडाका वडाध्यक्षहरु, मानव अधिकार प्रतिष्ठान सल्यानका अध्यक्ष प्रकश भण्डारी, सामुदायीक वनका अगुवाहरु खड्क केसी, टोपेन्द्र केसी लगाएतले बोल्दै वन क्षेत्रको विकास, विस्तार र व्यवशायीकरणका लागी नीति तथा कानुन उपयुक्त हुनुपर्ने धारणा राखेका थिए । सामुदायीक वन उपभोक्ता महासंघ कपुरकोटकी अध्यक्ष भिमा बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा ओम बहादुर बुढाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण प्रदिप खड्काले गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर १६ गते सोमवार
प्रतिक्रिया