यसैवर्ष दाङ्ग सल्यान वैकल्पिक बाटो : मन्त्री ज्वाला

मंसिर १३, २०७६  

तुलसीपुर , १४ मंसिर 
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले यसै वर्ष दाङ्ग सल्यान जोड्ने वैकल्पिक बाटो सञ्चालनमा आउने वताएका छन् । फरक प्रदेशमा रहेपनि दाङ्ग र सल्यानको भावनात्मक सम्वन्ध रहेको वताउँदै मन्त्री ज्वालाले हरेक दृष्टिले दाङ्ग केन्द्रमा रहनेगरी कर्णाली प्रदेश सरकारले योजना अगाडि वढाएको कुरामा जोड दिए । ‘दाङ्गलाई जोड्ने गरी दुइवटा मुख्य सडकको योजना अगाडि वढेको छ ’ मन्त्री ज्वालाले भने । उनले अमिलिया तुलसीपुर श्रीनगर र दाङ्ग सुर्खेत सडक खण्ड प्राथमिकताका साथ अगाडि वढेको वताए । ‘ राप्ती राजमार्गको सल्यान खण्डको काम टेण्डरको समस्याका कारणले गतवर्ष भएन तर यो वर्षबाट निर्माण प्रक्रिया अगाडि वढ्नेछ ’ उनले भने ।
उनले राप्ती राजमार्ग निर्माण हुँदा वैकल्पिक मार्ग सञ्चालन हुने गरी काम अगाडि वढाइएको समेत वताए । मन्त्री ज्वालाले दोघरे मखनटाकुरी लुहामसम्मको सडकको काम ७५ प्रतिशत सकिएको भन्दै बाँकी काम पनि तत्काल सम्पन्न हुने वताए । सल्यानका धेरै योजना दाङ्गसँग जोडिएको वताउँदै मन्त्री ज्वालाले दाङ्गलाई कर्णाली प्रदेशसँग समन्वय गर्ने प्रदेशका रुपमा अगाडि वढाउन आवश्यक रहेको कुरामा जोड दिए । उनले राप्ती राजमार्ग र दाङ्ग सुर्खेत सडक खण्डको निर्माणसँगै दाङ्ग कर्णाली प्रदेशको हवका रुपमा विकास हुने समेत वताए । उनले दाङ्ग सुर्खेत सडक खण्ड प्रयोग गर्दा ७० किलोमिटरको फरक पर्ने भएकाले सबैले यही रुट प्रयोग गर्ने कुरामा समेत जोड दिए । तुलसीपुर विमानस्थल सञ्चालनका लागि पहल गर्न आवश्यक रहेको भन्दै यो विमानस्थल कर्णाली प्रदेश जनताका लागि समेत आवश्यक रहेको वताए । तुलसीपुरमा पत्रकारसँग कुरा गर्दै मन्त्री ज्वालाले भेरी ववई डाइभर्सनले पनि दाङ्ग र कर्णाली प्रदेशलाई जोड्ने वताए ।
सो अवसरमा प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले दाङ्ग सल्यानलाई जोड्नका लागि कालान्तरमा सुरङ्ग मार्ग नै निर्माण गर्न आवश्यक रहेको वताए । नगरप्रमुख घनश्याम पाण्डेले कर्णाली प्रदेश प्रदेशका केही जिल्ला तुलसीपुरसँग जोडएको भन्दै एकीकृत योजना निर्माण गर्न आग्रह गरे । उनले कर्णाली प्रदेशका धेरैजसो विद्यार्थीहरु तुलसीपुरमा अध्ययन गर्ने भएकाले कर्णाली छात्रावास निर्माणका लागि समेत पहल गर्न अनुरोध गरे ।

Advertisement

प्रतिक्रिया दिनुहोस