तुलसीपुर ४ मा सामाजिक सुरक्षा भत्ता वितरण

तुलसीपुर, ६ मंसीर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ मा शुक्रवार सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । जेष्ठ नागरिकहरुलाई गाउँमै सेवा दिने उद्देश्यका साथ वडा बाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको वडा अध्यक्ष बालकृष्ण राणाले जानकारी दिएका छन् ।
जेष्ठ नागरिकहरुलाई बैंक सम्म जावतआवत गर्न समस्या हुने भन्दै वडा कार्यालयले कैलाश विकास बैंक लिमिटेड संग समन्वय गरी वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । वडा अध्यक्ष राणाले वडाकी ८९ वर्षिया जेष्ठ नागरिक पार्वती खड्कालाई चौमासिक भत्ता हस्तान्तरण गदै सुरुवात गरेका थिए ।
वडा बाटै सेवा पाएपछि जेष्ठ नागरिकहरु खुसी भएका थिए । सरकारले जेष्ठ नागरिकलाई दिदै आएको सामाजिक सुरक्षा भत्ता बुझदै ८९ वर्षिया खड्काले गाउँमै सेवा लिन पाउदा खुशी लागेको बताएकी छिन् ।बैंकमा गएर लिनुपर्ने सेवा घर नजिकैबाट पाएपछि आफुलाई धेरै सहज भएको उनले बताएकी थिईन् । आफुहरुले निर्वाचनको बेला जेष्ठ नागरिकलाई घरमै पुगेर भत्ता वितरण गर्ने बाचा अनुसार अहिले बैंक संग समन्वय गरी सेवा प्रवाह गरिएको वडा अध्यक्ष राणाले बताएका छन् ।
हिड्डुल गर्न नसक्ने अशक्त बृद्धबृद्धाहरुको समस्यालाई मध्येनजर गदै आगामी दिनहरुमा पनि यसरी नै जेष्ठ नागरिकलाई सहज तरिकाले भत्ता वितरण गर्ने योजना बनाएको उनले बताएका छन् । भत्ता वितरणका लागी बैंकका विष्णु कुमार चौधरीको नेतृत्वमा एक टोली खटिएका छन् । यस पटक एक दिनका लागी मात्रै भत्ता वितरण कार्यक्रम राखीएको वडा सचिव लोकमणि पोख्रेलले बताएका छन् । उनका अनुसार दलित समुदायका पाँच बर्ष मुनिका बालबालिकालाई पनि पोषण भत्ता वितरण गरिएको छ । सरकारले दिने जेष्ठ नागरिक भत्ता र दलित समुदायका पाँच बर्ष मुनिका बालबालिकाले पोषण भत्ता बैंकबाट लिदै आएका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर ६ गते शुक्रवार
प्रतिक्रिया