कांग्रेसको हार्ने संकेत, कार्यकर्ताबाट नै आयो यस्तो शन्देश !

मंसिर ०४, २०७६  

तुलसीपुर, ४ मंसीर ।

Advertisement

 

नेपाली काग्रेसका नेता शंकर डाँगीले जनतालाई झल्लो र उमेदवारलाई सेतो पहिरनमा हिड्ने अबला नारी भन्दै सार्वजनिक रुपमा अपमानजक शब्द प्रयोग गरेपछि उनको अहिले आलोचना हुन थालेको छ । दाङको हापुरेमा केहि दिन अघि आयोजना गरेको कांग्रेसको चुनावी सभालाई सम्वोधन गदै डाँगीले नेपाल कम्युनिष्ट पार्टी नेकपालाई भोट दिने मान्छे संसारकै झल्लो भएको बताउदै उमेदवार बिमला वलीलाई सेता लुगा लगाएर आउँदैमा एकल महिलाले भोट नपाउने बताएका थिए । उनको यो भनाईपछि कांग्रेसका महिला कार्यकर्ता र शुभचिन्तकबाट आलोचना हुन थालेको छ । निर्वाचनको मुखैमा उनको यो भनाईले धेरै मतदाता विचलित हुने कतिपयले अनुमान गरेका छन ।

युवा नेता शंकर डाँगीज्यू ,

सर्वप्रथम त तपाईकै पाटीको कार्यकर्ता एक चेलीकातर्फबाट जय नेपाल । दाङ्ग काँग्रेसको राजनीती ओरालो लाग्दै गएको वेला तपाई जस्ता नेतालाई देख्दा मनमा कता कता भोलिको उज्यालो भविष्यको आशा पलाउँथ्यो । एक न एक दिन अवश्य पनि म वसेको रुखको छहारीले सारा दाङ्गवासीलाई सितलता दिनेछ भन्ने मनमा लागिरहन्थ्यो । तर शंकर जी तपाईप्रतिको मेरो विश्वास वालुवाको घर जस्तै रहेछ । तपाईले चुनावी प्रचार अभियानका क्रममा विपक्षि दलले उम्मेदवार वनाएको विमला वलीका वारेमा दरिद्र शब्दहरु प्रयोग गर्नुभयो त्यसले मनमा तपाईप्रतिको प्रेम घृणामा परिणत भएको छ ।

तपाईका पनि आफन्त छन् होलान् , मनको प्रिय मान्छे गुमाउँदा आँखामा आँसु अवश्य पनि आउँछ । मनको रङ्ग फिक्का हुन्छ । तपाइको वुवा गुमाउँदा तपाईका आमाको आँखाबाट वग्ने आँसुमा के व्यापार देख्नुभयो तपाईले ? तपाइकै आमाको सेतो सारीमा के षडयन्त्र देख्नु भयो तपाईले ? तपाईको आमालाई वुवा गुमाउँदा जत्तिको पीडा भएको थियो के त्यो पिडा विमलालाई भएन ? विमलाको जीवन पनि त्यस्तै हो । श्रीमान मरेको आलो घाउँ तपाईको वहिनीलाई पथ्र्यो भने के तपाई रङ्गिचङ्गि वनाएर वजार डुलाउनुहुन्थ्यो ? या उनी रमाउँदै गाउँ गाउँ डुल्थिन् । सायद मनमा ढुँगा हुनेले पनि यस्तो गर्न सक्दैन ।

कस्तो संवेदनाहिन दरिद्र मानसिकता भएको मान्छे तपाई ? नेकपाले एजेण्डा सकिएर विमलाको सेता धोतिलाई भोटको व्यापार गरेको दानविय तर्क गर्ने तपाईले उनको आँसुको अपव्याख्या गरेर किन भोट माग्नु हुन्छ ? के काँग्रेस एजेण्डाविहिन भएर अरुको दुःखमा भाला रोपेर मात्रै भोट माग्ने ठाउँमा आइपुगेको हो ? तपाई जस्ता पढेको विद्धान नेताले एउटी अवलालाई तथानाम भन्दा त्यही सभामा रहेकी मैले ताली वनाउन सकिन । माफ गर्नुहोला शंकरजी तपाईको मन्तव्यले केही मत वढाउला , केही उत्तेजना वढाउँला तर तपाईप्रती गर्व गर्ने म जस्ता शुभचिन्तक भने अवश्य पनि घटाउँछ । पाटीको कद घटाउँछ । तपाईको कद त के नै रहेछ र ?

तपाईले टिकट नपाउँदा दुखेको मन तपाईको तेस्रो श्रेणीको भाषण सुनेपछि रमाएको छ । साच्चै काँग्रेसले तपाईजस्ता गएगुजे्रका नेताहरुलाई पाखा लगाएकै वेस । जसको दिमागमा के वोल्नुपर्छ भन्ने समेत थाहा छैन त्यस्तो हावा मान्छेले पाटीलाई हावा नै वनाउँछ । जसले टिकटको व्यापार गर्नका लागि आफ्नै दिदी वहिनीको आँसुको अपव्याख्या गर्छ त्यसले यो गाउँलाई र समाजलाई के नयाँ दिशा देला ? पश्चिम दाङ्गमा काँग्रेसको जग वलियो वनाउने हो भने तपाईहरुलाई यो पाटीले छाडेर हिड्नै पर्दछ ।

तपाई त कलेज चलाएको मान्छे, यस्तो दरिद्र मानसिकताको केही पनि अपेक्षा थिएन । गुटगत राजनीतिले थिलोथिलो वनेको काँग्रेसलाई तपाईजस्ताले झनै थिलो थिलो वनाएका छन् । अलिकति पनि आत्मसम्मान छ भने विमलाको वारेमा वोलेको कुरा फिर्ता लिनुहोस् । चुनावको मादतकतामा धेरै नवहकिनुहोला , आफुलाई सम्हाल्नुहोस् । घरमा नारी भएकाले नारीलाई सम्मान गर्न सक्नुपर्दछ भन्ने राम्रोसँग हेक्का रहोस् ।

काँग्रेस पाटीको कार्यकर्ता

तारा


प्रतिक्रिया दिनुहोस