ज्ञानज्योतिमा स्मार्ट प्रोजेक्ट मार्फत पढाई

कार्तिक २८, २०७६  

तुलसीपुर, २८ कार्तिक

Advertisement

‘मेडमले पढाएको पनि बुझिन्छ । त्यहाँ देखाएको झन धेरै बुझिन्छ ।’ ज्ञानज्योति आधारभू्त विद्यालय तुलसीपुरमा कक्षा १ मा पढ्दै गरेकी बबिता नेपालीले भन्नुभयो । बबिताले त्याँ भनेर संकेत गरेको कक्षा कोठामा राखेको एल. ई. डी टिभिलाई थियो । बबिताको कुरा सकिन नपाउदै अर्का छात्र अमृत विकले भन्नुभयो ‘मैले पनि टिभीमा पढाएको बुझ्छु सर ।’
तुलसीपुर–५ मा रहेको त्यस बिद्यालयको कक्षा १ मा प्रवेश गर्दैगर्दा डिजिटल प्रविधिद्धारा एल. इं. डी मार्फत ससाना भाइबहिनीले ठूलठूलो स्वरमा बि फर बल, सी फर क्याट भन्दै पढ्दै थिए ।
डिजिटल प्रविधिबाट पढाउन सुरु गरेपछि पढाई प्रति आकर्षण बढेको शिक्षिका होमा वलीले बताउनुभयो ।
‘विद्यार्थीहरु पहिल्य त पढाउदा पढदै झुङ्ने सुत्ने गर्थे,’ शिक्षिका वलीले भन्नुभयो–‘आज भोली त कोहिपनि सुत्दैनन् । चासो दिएर पढ्ने र बुझ्ने गरेका छन् ।’

अघिल्लो बर्षसम्म वा–आमासंग स्कुल आउन नमान्ने र भित्र पस्न नमानेर विद्यार्थी रुने गरेको स्मरण गर्दै शिक्षिका वलीले अहिले देखि उनिहरु रमाई रमाई आउने गरेको र पढाएको पनि सजीलै बुझ्ने गरेको बताउनुभयो । विद्यालयमा स्मार्ट प्रोजेक्ट सुरु भएपछि विद्यार्थीको सिकाई र बुझाईमा धेरै परिवर्तन आएको विद्यालयले जानकारी दिएको छ ।

तुलसीपुरमा रहेका करिब ८४ वटा सामुदायिक विद्यालय मध्य स्मार्ट प्रोजेक्ट लागु भएको यो विद्यालय मात्रै हो । प्रदेश सरकारको २ लाख २५ हजार लगानीमा यस बर्षदेखि स्मार्ट प्रोेजेक्ट सुरु भएको हो । विद्यालयमा नर्सरी देखि १ कक्षासम्म एल.इं.डी र २ देखि ७ कक्षासम्म स्मोर्ट प्रोजेक्ट मार्फत पठनपाठन गर्ने हुने गरेको विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरे जानकारी दिनुभयो ।

‘विद्यालयलाई बालमैत्री बनाएका छौ,’ प्रधानाध्यापक घिमिरले भन्नुभयो –‘ स्मार्ट प्रोजेक्ट लागु गरेपछि विद्यार्थीहरु रमाईलो वातावरणमा हाँसीहाँसी ताली बजाएर खेल्दै , नाँच्दै पढ्छन ।’
डिजिटल प्रविधिको माध्यमबाट पढाउन सुरु गरेपछि विद्यार्थीको पढाई प्रतिको अभिरुचि पनि बढेको बताउदेै प्रधानाध्यापक घिमिरेले यसले ठूलो उपलब्धी भएको बताउनुभयो । गरिब तथा मजदर वर्गका विद्यार्थीलेमात्र पढ्ने भनेर परिचित त्यस विद्यालयमा अहिले १२ जना शिक्षक शिक्षीका छन् भने ३ सय ७० जना विद्यार्थी छन् ।

 

 

 


प्रतिक्रिया दिनुहोस