बंगलादेशका राष्ट्रपति हमिद आज पोखरा जाँदै

कार्तिक २८, २०७६  

काठमाडौ, २८ कात्तिक । नेपालको चारदिने राजकीय भ्रमणमा रहनुभएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज पोखरा जाँदै हुनुहुन्छ । हिजो काठमाडौंमा उच्चस्तरीय भेटवार्ता गर्नुभएका राष्ट्रपति हमिद आज पोखरा भ्रमणमा जाने कार्यक्रम रहेको छ । पोखरामा उहाँले फेवातालमा डुङ्गा सयर गर्नुका साथै दृष्यावलोकन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति हमिदको स्वागतका लागि पोखरामा गण्डकी प्रदेशको सरकारले भव्य तयारी गरेको छ । हमिदले नेपाल र बंगलादेशले परस्पर सहयोग र समृद्धिको साझा रणनीति निर्धारण गर्न सक्ने बताउनुभएको छ । राष्ट्रपति हमिदको सम्मानमा नेपाली समकक्षी विद्यादेवी भण्डारीले हिजो साँझ आयोजना गर्नुभएको रात्रिभोजमा आतिथ्य मन्तव्य राख्दै हमिदले सडक सञ्जाल, हवाई सम्पर्क, जलविद्युत र पर्यटन प्रवद्र्धनका माध्यमबाट नेपाल र बंगलादेशले समृद्धिको साझा रणनीति निर्धारण गर्न सक्ने बताउनुभएको हो ।

Advertisement

व्यापार र लगानीका द्धिपक्षीय सम्भावनालाई अझ पहिल्याएर जान जरुरी रहेको उहाँको भनाइ थियो । नेपालको सामाजिक आर्थिक समृद्धिको प्रयासमा सघाउ पु¥याउन र आवश्यक सहयोग प्रदान गर्न बंगलादेश सदैब तयार रहेको पनि राष्ट्रपति हमिदले बताउनुभएको थियो । बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा बङ्गलादेश र नेपालले साझा चासोका मामिलामा साझेदारी गर्दै आएको बताउँदै उहाँले आफ्नो देश र नेपालको शान्ति सैन्यले राष्ट्रसङ्घीय शान्ति स्थापनाका कार्यमा उल्लेखनीय योगदान गरिरहेको बताउनुभयो । स्वागत मन्तव्य राख्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जलस्रोत र बङ्गलादेशको प्राकृतिक ग्यास दुवै देशको आर्थिक समृद्धिको वाहक बन्न सक्ने सम्भावना रहेको बताउनुभयो । बङ्गलादेशले हालै गरेको तीव्र विकासले आफूलाई खुशी लागेको बताउँदै राष्ट्रपति भण्डारीले दुवै देशबीच व्यापार, पर्यटन, शिक्षालगायत क्षेत्रमा सहयोग आदानप्रदान आवश्यक रहेकामा जोड दिनुभयो । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री, मन्त्री, सरकारका विशिष्ट श्रेणाीका कर्मचारीलगायतको सहभागीता थियो । यसअघि राष्ट्रपति हमिद हिजो दिनभर राजनीतिक भेटवार्तामा व्यस्त हुनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सीनासँग भेटवार्ता गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस