आज हरिबोधिनी एकादशी

कार्तिक २२, २०७६  

दाङ कार्तिक २२ ।

Advertisement

कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु) को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ ।

आषाढ शुक्ल एकादशीअर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

 


प्रतिक्रिया दिनुहोस