आफ्नै प्रेमिकामाथि निर्घात कुटपिट

रबिन कटेल

धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिकाका एक युवकले आफ्नै प्रेमिकालाई निर्घात कुटपिट गरेका छन् । सहिदभूमी गाउँपालिका–४ का भीमसेन राईले आफ्नै प्रेमिका बन्दना राईलाई मरणासन्न अवस्थामा पुग्ने गरी कुटपिट गरेका हुन् । कुटपिटबाट गंभीर घाईते सहिदभूमी–४ खोकुकी १८ बर्षीया बन्दनाको अवस्था गंभीर छ ।

निर्घात कुटपिट पश्चात बेहोस अवस्थामा भेटिएकी बन्दनाको अझै होस नखुलेको उनका दाजु असिम राईले बताए । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा उनको उपचार भईरहेको छ । चिकित्सकहरुका अनुसार बन्दनाको टाउकोमा रगत जमेको छ । उनको शरिरका बिभिन्न भागमा निलडाम छ ।

कुटपिट गर्ने भीमसेनलाई घटनापश्चात प्रहरीले पक्राउ गरेको छ । पीडित युवतीका आफन्तले दिएको उजुरीका आधारमा राईलाई पक्राउ गरेर कारबाही प्रकृया अघि बढाइएको जिल्ला प्रहरी प्रमुख सुदर्शन कोईरालाले जानकारी दिए । उनीबिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाएर प्रहरीले घटनाको बिषयमा अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार भीमसेन र बन्दना दुई बर्ष भन्दा अघिदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ । भीमसेनले आफ्नी प्रेमिका अरु केटासँग बोलेको झोकमा कुटपिट गरेको प्रहरीसमक्ष बयान दिएका छन् । युवतीको अझै होस नखुलेकाले घटनाको यथार्थ यकिन हुन सकेको छैन ।

प्रकाशित मिति : २०७६ कार्तिक २० गते बुधवार
प्रतिक्रिया