बग्दादीको अवसान र आतंकवाद अन्त्यको सवाल

केशरमणि कटुवाल

सन् २०१४ मा इराक र सिरियाको ठूलो क्षेत्रलाई कब्जामा लिएर इस्लामिक राज्य घोषणा गरेका चरमपन्थी समूह इस्लामिक स्टेट (आईएस) का प्रमुख अबु बकर अल–बग्दादी हालै आफ्ना तीन सन्तानसहित मारिएका छन् । यसअघि पनि मोसुलमा सुरक्षाकर्मीले गरेको कारबाहीमा उनी मारिएको बताइए पनि पछि उनी जीवित भएको पाइएको थियो । यसपटक भने उनी अमेरिकी सेनाको कारबाहीमा मारिने अवस्था आएपछि आफैंले ‘सुसाइड भेस्टु’ विस्फोट गराएर आत्महत्या गरेका छन् । जुन कुरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आईएसले समेत पुष्टि गरेको छ । बग्दादी मारिएको बताइए पनि उनको शव अहिलेसम्म कसैले देख्न पाएका छैनन् । अमेरिकी सेनाले उनको शव व्यवस्थापन गरिएको बताएको छ । २८ अक्टोबरमा मात्र आर्ईएसका प्रवक्ता अबु अल–हसन अल–मुजाहिर पनि मारिएको आईएसले पुष्टि गरेको छ ।

२ मे सन् २०११ मा पाकिस्तानको एबोटाबादमा अमेरिकी सेनाको कमान्डोबाट हत्या गरिएका अल कायदाका प्रमुख ओसामा बिन लादेनको शव पनि अमेरिकाले गोप्य रूपमा समुद्रमा लगेर गाडेको बताइन्छ । कतिपय मिडियामा उनको क्षतविक्षत शव देखिए पनि त्यसको आधिकारिकता अहिलेसम्म पुष्टि भएको छ । केही महिनाअघि मात्रै अमेरिकी कारबाहीमा लादेनका छोरा हमजासमेत मारिएको बताइन्छ । यसबाट पछिल्ला केही समययता अमेरिकी सेनाले आतंकवादविरोधी अभियानमा ठूला सफलता हात पारेको छ । आईएसले आफ्ना नेताको मृत्यु भएको पुष्टि गर्दै अबु इब्राहिम अल–हासेमी अल–कुरैसीलाई नयाँ नेता घोषित गरेको आईएस निकटको समाचार एजेन्सी अमाकले उल्लेख गरेको छ । आईएसले सन् २०१४ मा इराक र सिरियाका ठूलो भूभागमाथि कब्जा गरेपछि अल–बग्दादी आईएसको नेताका रूपमा बाहिर आएका थिए ।

के हो आईएस ?

इस्लामिक स्टेट (आईएस) सन् २०१४ मा औपचारिक रूपमा निर्माण भएको जिहादी सुन्नी सैन्य समूह हो । इराक र सिरियाको ठूलो क्षेत्रलाई नियन्त्रणमा लिएको यो समूहको नाम अरबी भाषामा ‘अल दौलदुल इस्लामिया फिल इराक अल साम’ अर्थात् ‘इराक र सामको इस्लामी राज्य’ भन्ने हुन्छ । साम सिरियाको प्राचीन नाम हो । आईएसआईएस नामबाट यस संगठनको गठन सन् २०१३ मा भएको थियो । कुनै समयमा अलकायदामै रहेको यो चरमपन्थी संगठन हाल आफ्नो छुट्टै अस्तित्वमा छ । संसारको सबैभन्दा धनी आतंकवादी संगठन मानिने आईएसको घोषित लक्ष्य विश्वका अधिकांश मुस्लिम क्षेत्रमा आफ्नो सीधा राजनीतिक नियन्त्रण कायम गर्नु हो । २९ जुन २०१४ मा बगदादीले यसको नाम औपचारिक रूपमा इस्लामिक स्टेट (आईएस) राखेका हुन् । उनीहरूले पश्चिमी प्रजातन्त्रलाई अमान्य भन्दै समग्र अरबलाई पश्चिमी प्रभावबाट मुक्त गराउने उद्देश्यसहित हिंसात्मक क्रियाकलाप गर्दैै आउँदा उसका गतिविधिबाट सबैभन्दा बढी मुस्लिम राष्ट्र र त्यहाँका जनता नै प्रभावित बनेका छन् । अहिले आफ्नो ठूलो पकड क्षेत्रबाट आईएसले हात धुनुपरेको छ ।

 

को हुन बगदादी ?

आईएस प्रमुख अबु बकर अल बगदादी को हुन् भन्नेबारेमा लामो अन्योलता थियो । सन् २०११ सम्म लिखित भाषण सार्वजनिक हुने उनको सन् २०१३ मा अडियो सन्देश बाहिर आयो । खलिफा इब्राहिमका नामले परिचित बगदादीलाई पैगम्बर महम्मदका वंशजका रूपमा उनका समर्थकले लिने गर्दथे । बग्दादीले बगदादस्थित सद्दाम इस्लामिक विश्वविद्यालयबाट इस्लामी संस्कृति, इतिहास, सरिया र न्यायशास्त्रमा विद्यावारिधि (पीएचडी) गरेका छन् । कुनै समयमा मस्जिदमा धार्मिक शिक्षा दिने बगदादीलाई उनका समर्थकले शिक्षित नेताका रूपमा ओसामा बिन लादेनलाई भन्दा बढी सम्मान गर्दथे । सन् २००३ मा अमेरिकाले इराकमा रासायनिक हतियार रहेको भन्दै सद्दाम हुसेनको सत्तामाथि धावा बोलेपछि बगदादीले आफ्ना समर्थक र सहयोगीसहित जैस अहल अल सुन्नाह वा–अल जमात (जेजेएएसजे) गठन गरेका थिए । उनी सन् २००४ मा अमेरिकी सैनिकको हिरासतमा परेर करिब ११ महिनापछि छुटेका थिए ।
सुरुमा बगदादमा सक्रिय रहेको उनको जेजेएएसजेको नाम सन् २००६ मा परिवर्तन गरेर मजलिस सुरा अल–मुजाहिद्दिन राखे र यसले अल कायदासँग बफादार रहने कसम खादै अलकायदामा सामेल भयो । त्यसपछि पुनः यसको नाम परिवर्तन गरेर इस्लामिक स्टेट अफ इराक एन्ड अल साम (सिरिया) अर्थात् आईएसआईएस बनाइयो । बगदादी यसका सर्वोच्च सल्लाहकार परिषद्मा चयन भए । यसका प्रमुख नेता अबु अमर अल बगदादीको सन् २०१० अप्रिलमा मृत्यु भएपछि उनी आईएसको प्रमुख बनेका हुन् । उनको गत शनिबार अमेरिकी कारबाहीका क्रममा आत्मघाती विस्फोटमा मृत्यु भएको छ ।

को हुन् नयाँ प्रमुख अल–कुरैसी ?

आईएसको नयाँ नेता चयन भएका हासेमीबारे त्यतिधेरै जानकारी सार्वजनिक भएको छैन । यसअघि पनि अबु बकर अल–बग्दादी र प्रवक्ता अल मुजाहिर चर्चामा आउने भए पनि हासेमी आईएसको माथिल्लो स्तरमा भएको सूचना बाहिर आएको थिएन । त्यसैले, अन्तर्राष्ट्रिय सुरक्षा फौजहरूका लागि हासेमी परिचित नाम होइन र लडाइँको प्रयोजनका लागि कतिपय लडाकुले राख्ने नाम हुन सक्ने अनुमान गरिएको छ । नयाँ नेता चयन गरिएको आईएसले घोषणा गरे पनि आईएसले आफ्ना नयाँ नेताबारे कुनै विस्तृत विवरण र तस्बिर सार्वजनिक गरेको छैन भने उनको तस्बिरसमेत बाहिर आएको छैन । यसबाट आईएस आफ्ना नेताको सुरक्षामा अत्यन्तै गम्भीर र चनाखो भएको बुझ्न सकिन्छ । तर, उसले आफ्ना नयाँ नेता पश्चिमाहरूविरुद्ध लडाइँ गरेका एक अनुभवी जिहादी लडाकू भएको उल्लेख गरेको छ । खासगरी मध्यपूर्व र अफ्रिकी देशहरूमा बढ्दै गरेको आतंकवादको सिकार विश्वभरिका जनता हुनुपरेको छ । केही दशकअघिसम्म शान्त रहेका देश पनि यतिबेला आतंकवादको पीडामा रुमल्लिनुपरेको अवस्था छ ।

आतंकवाद र प्रतिआतंकवाद

विश्वका आतंकवाद र यसका विभिद पक्षहरूलाई केलाउने हो भने आतंकवाद र प्रतिआतंकवाद दुवै पाउँछौं । द्वन्द्वका विविध पाटाहरूमध्ये आतंकवाद एउटा प्रमुख समस्याका रूपमा देखा परेका छ । कतिपय आफ्नो राजनीतिक उद्देश्य प्राप्तिका लागि भएका संघर्ष छन् । जसमा आतंकवादभन्दा पनि संघर्षका लागि अपनाइएका अवैधानिक तरिकाहरू पर्छन् भने कतिपयचाहिँ नितान्त आतंकवादी उद्देश्यका लागि सञ्चालित चरमपन्थी हिंसा छन् । जसको मारमा करोडौं जनता परिरहेका छन् । अर्बौंको भौतिक सम्पत्ति नष्ट भइरहेको छ । आईएसको नियन्त्रणमा रहेको इराकको दोस्रो ठूलो सहर मोसुलसहितका स्थानबाट आईएस पराजित भएको छ । इराक र अमेरिकी सैनिकका साथै इराकका केही मुस्लिम समूहका मिलिसियासमेत आईएस विरोधी कारबाहीमा जोडिएका थिए । अमेरिकी र जापानी पत्रकारको हत्या, फ्रान्स, जर्मनी, बेल्जियम, टर्कीलगायतका देशमा ठूलो हताहती हुनेगरी आईएसले गरेको आक्रमण, नियन्त्रणमा लिएका बन्दीहरूको चरम यातनापछि हत्या, इराक र सिरियाको ठूलो क्षेत्रमा महिलाहरूलाई यौन दासको रूपमा प्रयोगलगायतका गतिविधिले आईएसविरुद्ध पश्चिमा शक्तिहरू एकजुट भए र आईएसलाई कमजोर अवस्थामा पु¥याए । अहिले इराक र सिरियामा आईएसको उपस्थिति अत्यन्तै कमजोर बनेको छ भने प्रमुख नेता बग्दादीसहितका कमान्डरहरू मारिएका छन् ।

कुनै सयम अमेरिकाका लागि अलकायदा प्रमुख ओसामा बिन लादेन प्रमुख दुस्मन थिए । पाकिस्तानको एबोटाबादमा एक घरमा लुकेर बसेको अवस्थामा आक्रमण गरी २ मे २०११ मा उनी मारिएपछि अमेरिकाले ठूलो राहत महसुस गरेको थियो । तर, त्यसको केही वर्षमै इस्लामिक स्टेट अफ इराक एन्ड अल साम (सिरिया) अर्थात् आईएसआईएस अमेरिकाका लागि झनै खतरनाक बनेर देखा प¥यो । आईएसलाई सुरुवाती समयदेखि नै नेतृत्व गरेका अबु बकर अल बगदादी तिनै व्यक्ति हुन्, जसलाई अमेरिकाले सन् २००४ को फेब्रुअरीदेखि डिसेम्बरसम्म हिरासतमा राखेर रिहा गरेको थियो । आईएसभित्र खलिफा इब्राहिमका नामले परिचित बग्दादीले अहिलेको सबैभन्दा धनी, शक्तिशाली र क्रुर चरमपन्थी संगठनको नेतृत्व गरेका थिए । आईएसले सन् २०१४ मा इराक र सिरियाको ठूलो क्षेत्रलाई आफ्नो कब्जामा लिएर हिंसात्मक गतिविधिसहित आफ्ना क्रियाकलापलाई अघि बढायो । आईएसले सुरुमा इराक र सिरियामा गरेका हिंसात्मक गतिविधिले विश्वको ध्यान आफूतिर तान्यो । तर, उसको आन्तरिक रणनीति भने इराक र सिरियामा पश्चिमाको ध्यान केन्द्रित गरी विश्वका अन्य मुस्लिम देशमा आफ्नो गतिविधि बढाउनु र पश्चिमा शक्तिमाथि प्रहार गर्नु थियो, त्यसमा आईएस सफल भएको देखिन्छ । इराक र सिरियामा आईएस पराजित अवस्थामा भएपनि अन्य मुस्लिम देशमा आईएसले आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेको छ ।

आईएसले एसिया, युरोप र अमेरिकामा समेत दर्जनौं घातक हमला ग¥यो । जसले संसारभरि नै आईएस के हो र यसको नेतृत्व कसले गरिरहेको छ चासो बढ्यो । तालिबान, अलकायदा, आईएस, बोको हराम, अल नुसरा फ्रन्टलगायत थुप्रै इस्लामिक चरमपन्थी संगठन हिंसात्मक गतिविधिमा सक्रिय छन् । अफगानिस्तानमा तालिबान शासन ढलिसकेको छ । यद्यपि, अहिले पनि तालिबानी आक्रमणका घटनाहरू कम भएका छैनन् । लादेनको हत्यापछि अलकायदा त्यतिधेरै प्रभावकारी देखिएको छैन । तर, कुनै समय अलकायदामै रहेका अबु बकर अल बगदादीले नेतृत्व गरेको आईएस चुनौतीको विषय बनेको छ । ११ सेप्टेम्बरमा अमेरिकाको ट्वीन टावर र पेन्टागनमा आक्रमण गर्दा अमेरिकामाथि सिर्जना भएको दबाबभन्दा सुरक्षाका हिसाबले थप खतरा उत्पन्न भएको अवस्था छ ।

आतंकवाद जन्मिनुमा को दोषी ?

सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले चुनावी प्रचार अभियानका क्रममा राष्ट्रपति बाराक ओबामा र डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई आईएसआईएसको संस्थापक भएको आरोप लगाएका थिए । ओबामाको कार्यकालमा आईएस चर्चामा आए पनि यसको प्रारम्भिक विकास ओबामाको पालामा भएको होइन । यसका लागि पृष्ठभूमिको निर्माण रिपब्लिकन पार्टीबाटै राष्ट्रपति भएका जर्ज डब्लु बुसकै पालामा भएको मानिन्छ । आईएस, तालिबानजस्ता आतंकवादी संगठनविरुद्ध अमेरिका र नेटो सेना लामो समयदेखि लडिरहेको छ ।
आखिर किन, कसले र कसरी जन्मायो आईएस ? यो प्रश्न सबैभन्दा जटिल छ । के संसारबाट आतंकवादको अन्त्य सम्भव छ ? छ भने कहिले र छैन भने किन ? कुनै समय दमनबाट नै जन्मिएको तालिबानले अफगानिस्तानमा शासन चलायो र दमनबाट पुनः आतंकवादी गतिविधिमा सामेल भयो । अहिले पनि तालिबानको बिगबिगी उत्तिकै छ । खर्बपति बाबुका छोरा ओसामा बिन लादेन मुस्लिममाथिको अपमानकै कारण कट्टरपन्थी मुस्लिम संगठन निर्माणमा लागे र आतंकवादीकै रूपमा मारिए । सद्दाम हुसेनको शासनमाथि भएको आक्रमणको जगबाटै आईएसजस्तो खतरनाक संगठन जन्मियो । यसमा पश्चिमा शक्तिको भूमिका कति छ ? अब समीक्षा गर्ने बेला भइसकेको छ ।

 


कुनै समय सद्दाम हुसेनले पनि अरब एकताको नारा दिएका थिए । आज आईएसले सोही नारा दिइरहेको छ । यो एजेन्डा सद्दामबाट सापटी लिएको एजेन्डा नै हो । मध्यपूर्वमा दशकांैदेखिको संकटको फौजी समाधान खोज्ने प्रयत्न नै भएको छ । आज सिरियामा होस् या यमनमा, प्यालेस्टाइन होस् या लेबनानमा अरब राष्ट्रको संकट समाधानका लागि फौजी रणनीति प्रयोग गर्दा यस्ता समस्याहरू घट्नुको साटो बढिरहेका छन् । संकट समाधानका नाममा हुने हस्तक्षेपका कारण लाखौंले ज्यान गुमाउनुपर्ने अवस्थाको सिर्जना भएको छ । यसबाट पार पाउने उपाय सोच्न जरुरी भइसकेको छ ।
अन्त्यमा, अमेरिकाको काम विश्वको चौकिदारी गर्ने मात्रै नभई आफ्नो सुरक्षा र आर्थिक अवस्थालाई मजबुद बनाउनु पनि हो भन्ने नारा दिएका डोनाल्ड ट्रम्पले अमेरिकी बागडोर सम्हालिरहेका छन् ।

तर, उनले पनि चौकीदारी छाडेका छैनन् । उनले आज आप्रवासीलाई अमेरिकाबाट लखेट्ने अभियानलाई निरन्तरता दिइरहेकै छन् । आज युरोपमा सबैभन्दा बढी आप्रवासी शरण लिन पुगेका छन् ।
सन् २०११ मा सिरियामा विद्रोहीले सुरु गरेको बसर अल असद विरोधी आन्दोलनलाई अमेरिकाले साथ दिँदा लामो समय सिरिया युद्धभूमिमा परिणत भयो । त्यहाँका लाखांै जनता मारिए, घरबारविहीन भए र शरणार्थीका रूपमा विस्थापित हुन पुगे । त्यो हिंसालाई अन्त्य गर्न अमेरिकाले पहल लिएको भए यति धेरै आप्रवासी र शरणार्थी उत्पादन भएर युरोपतिर पक्कै पनि पलायन हुने थिएनन् ।

आज इराक, सिरिया, अफगानिस्तानलगायतका देशमा अमेरिकी सैन्य उपस्थिति जारी छ । यिनै आप्रवासीहरू भोलिका दिनमा युरोप र अमेरिकामा विस्फोट हुने अवस्थाको सिर्जना भयो भने यसले विकराल रूप लिने खतरा छ । सैनिक हस्तक्षेप समस्याको दीर्घकालीन समाधान होइन भन्ने कुरा घटनाक्रमले पुष्टि गरिसकेको छ । यसो भन्दैमा विश्वमा आतंकवादले उदण्ड मच्चाउँदा पनि मौन बस्नुपर्छ भन्ने होइन । तर, आतंकवादको अन्त्यका लागि कमजोरीलाई सच्याउँदै सार्थक पहल गर्न सकियो भने मात्र आतंकवाद अन्त्य हुन सक्छ ।

राजधानी दैनिकबाट 

प्रकाशित मिति : २०७६ कार्तिक १६ गते शनिवार
प्रतिक्रिया