तरुणदलका नगर अध्यक्ष पेस्तोल सहित पक्राउ

कार्तिक १५, २०७६  

नेपालगन्ज ,१५ कार्तिक

Advertisement

बाँके प्रहरीले अबैध हतियार सहित नेपाल तरुण दल नेपालगञ्ज उपमहानगर सभापति सन्दिप जंग शाहलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले पेस्तोल सहित तरुणदल नेता शाहसहित ६ जनालाई नेपालगञ्ज–२० मनिकापुर स्थित नमस्ते भिलेज रेस्टुरेन्टको पार्किङ्गबाट नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले दिएको जानकारी अनुसार ‘मेड इन अमेरिका’ लेखेको अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने २ राउण्ड गोली र त्यसको म्याग्जिनसहित नेपालगञ्ज–१३ का ३२ वर्षिय शाहलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले शाहलाई नेपालगञ्ज–२० मनिकापुर स्थित नमस्ते भिलेज रेस्टुरेन्टको पार्किङ्गमा रहेको बा १८ च ४२११ नंम्बरको खैरो मारुती सुजिकी कारको सिटमुनी सो पेस्तोल र त्यसमा लाग्ने गोलीसहित लुकाई राखेको अवस्थामा बिहीबार साँझ साढे ८ बजे नियन्त्रणमा लिएको हो ।

प्रहरीले शाहका साथमा रहेका नेपालगञ्ज–१० भृकुटीनगरका ४० वर्षिय दिनेश कुमार शाही, नेपालगञ्ज–१२ का ५४ वर्षिय राघव शाह (कानु), ३५ वर्षिय माधव नेपाली, नेपालगञ्ज–४ का ३५ वर्षिय प्रितम थापा र नेपालगञ्ज–२०का यामबहादुर बुढालाई समेत नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जनाएको छ ।

प्रहरी नायव उपरीक्षक शाहीले पेस्तोल बरामद भएको कार समेत नियन्त्रणमा लिएको जानकारी दिए । उनीहरु माथि हातहतियार तथा खरखजना ऐन अन्तरगत मुद्दा चलाईने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस