थाई राजाले ‘श्रीमती’ लाई दिए सजाय

 

एजेन्सी, ९ कार्तिक

थाईल्यान्डका राजा महा वाचिरालङ्कनले आफ्नी एक ‘श्रीमती’ को शाही उपाधि खोसेका छन् । नी राजा बन्नुभन्दा पहिला ती महिला उनकी एक भित्रिनी थिइन् । उच्च तहको नियुक्ति पाएको केही महिनामै ती महिलाले विश्वासघात गरेको आरोप लगाउँदै राजाले त्यस्तो निर्णय लिएको एक बयानमा जानकारी दिइएको छ ।

एउटा औपचारिक घोषणामा सिनीनात वङ्वाचिराफाक ‘महत्वाकाङ्क्षी’ बनेकी र उनले ‘आफूलाई रानीको हैसियतमा पदोन्नति गर्ने प्रयास गरेको’ उल्लेख छ । उनका व्यवहारहरू अपमानजनक ठहरिएको त्यसमा बताइएको छ। राजाले चौथो पत्नीको रूपमा रानी सुथिदासँग बिहे गरेको दुई महिनाभित्रै उनलाई जुलाई महिनामा ‘चाओ खुन फ्रा सिनिनात बिलासकलयानी’को उपाधि दिएका थिए ।

उक्त उपाधि झन्डै एक शताब्दीमा पहिलो पटक दिइएको बताइन्छ । मेजर जेनरल सिनीनात तालिमप्राप्त पाइलट, नर्स र अङ्गरक्षक हुन्।

को हुन् सिनीनात ?

गत अगस्टमा उनले सैन्य पोसाकमा जेट विमान चलाइरहेको फोटो औपचारिक रूपमा सार्वजनिक गर्दै राजाले उनको शाही जीवनगाथा सिर्जना गर्न निर्देशन दिएको उल्लेख थियो ।पूर्वविमान परिचारिका तथा राजाको अङ्गरक्षक समूहकी प्रमुख ४१ वर्षीया रानी सुथिदा राजा वाचिरालङ्कनको लामो समयदेखिको साथी थिइन् र उनलाई कैयौँ वर्षदेखि सार्वजनिक समारोहहरूमा राजासँगै देखिन्थ्यो ।

सिनीनातको उपाधि खोसिने घोषणा  सोमवार राजपत्रमा प्रकाशित भयो । उनी वर्षौंदेखि राजाको नजिक थिइन् ।
राजमहलले के भन्यो ?

राजपत्रमा सोमबार प्रकाशित बयानमा मेमा भएको राज्याभिषेक अघि सिनीनातले ‘प्रतिशोध देखाइन् र रानीको नियुक्तिलाई कुनै पनि हालतमा रोक्नका लागि दबाब दिइएको’ बताइएको छ ।

बयानमा थपिएको छ, ‘राजाले आफूमाथिका केही दबाब कम होस् भनेर उनलाई शाही पद दिएका थिए साथै उनको नियुक्तिले राजतन्त्रलाई असर पार्ने समस्याको पनि समाधान हुने आशा गरेका थिए ।’

यो बयानमा सिनीनातमाथि ‘राजा र रानीविरुद्ध विरोध गरेको र राजाको तर्फबाट आदेश दिनका लागि आफ्नो शक्तिको दुरुपयोग गरेको’ पनि आरोप लगाइएको छ

प्रकाशित मिति : २०७६ कार्तिक ९ गते शनिवार
प्रतिक्रिया