२३ वर्षपछि नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपतिलाई भव्य स्वागत

असोज २५, २०७६  

काठमाडौ, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङ नेपालको राजकीय भ्रमणमा काठमाण्डौ आइपुग्नुभएको छ ।राष्ट्रपति सी भारतको चेन्नईबाट एयर चाइनाको विशेष विमानबाट शनिबार अपरान्ह ४ बजेर ४५ मिनेटमा काठमाण्डौ आउनुभएको हो ।नेपालको दुईदिने भ्रमणमा रहनुभएका राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिकतापूर्वक स्वागत अभिवादन गर्नुभयो । उहाँहरूलाई चिनियाँ विशिष्ट अतिथिको स्वागतमा पञ्चकन्याले साथ दिएका थिए ।

Advertisement

त्यसअघि राष्ट्रपति भण्डारीले विमानमा नै पुगेर राष्ट्रपति सीलाई स्वागत गर्नुभएको थियो ।विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा चिनियाँ दूतावासका उच्चअधिकारीले पनि राष्ट्रपति सीलाई स्वागत गर्नुभएको थियो ।

नेपाली सेनाको एक टुकडीले विशिष्ट अतिथि राष्ट्रपति सीको सम्मानमा २१ तोपको सलामी दिएको थियो । चिनियाँ राष्ट्रपति सीको नेपाल बसाइलाई आनन्ददायी बनाउन भव्य तयारी गरिएको छ । सबै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ । विमानस्थलकै मूलद्वार राष्ट्रपति सीको स्वागतका लागि आकर्षक पारिएको छ ।विमानस्थल परिसर र वरपर सातै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय पोशाक पहिरिएका विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितका जनसाधारणले नेपाल र चीनका झण्डा फहराएर चिनियाँ राष्ट्रपतिको स्वागत गरेका थिए ।

Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपतिको आतिथ्य एवं आवासको प्रबन्ध गरिएको स्थल तथा त्यहाँबाट राष्ट्रपति भवन शीतल निवाससम्मको सवारी मार्गका दुवै किनार भव्य रुपमा सिङ्गारिएको छ । विमानस्थल प्रवेशको स्वागतद्वारदेखि नै राष्ट्रपतिलाई विभिन्न परम्परागत नेपाली बाजागाजासहित स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस