टर्कीको आक्रमणको कारण सिरियामा १ लाख व्यक्तिले छोडे घर

संयुक्त राष्ट्रसंघ । उत्तरपूर्वी सिरियामा टर्कीले जारी राखेका हवाई र स्थलगत आक्रमणको कारण सो क्षेत्रका बसोवास गर्दै आएका करिब १ लाख व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेर्रस्का प्रवक्ता स्टेफान डुजार्रिकले शुक्रबार बताएका छन् ।

सिरियाको उत्तरपूर्वी भागमा रहेका कुर्दिश लडाकू समूह र टर्की सुरक्षाबलबीच जारी यस झडपमा दुबैतर्फ हताहत भएको संयुक्त राष्ट्रसंघीय मानव अधिकारका लागि उच्चायुक्तको कार्यालय (एचसीएचआर) ले जनाएको छ ।

सीमानामा पर्ने दुबै शहरहरुमा बम विस्फोटको समाचार भएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिलाको समन्वय कार्यालय (ओचा) ले जनाएको छ ।

संयुक्त राष्ट्रसंघ आपतकालीन राहत समन्वयकर्ता जनरल मार्क लोकोकले टर्की यात्रा गरेका छन्। लोकोकको दुई दिनको आङ्कारा भ्रमण र टर्की र सिरिया सिमानाको भ्रमण टकीले सो क्षेत्रमा आक्रमणको घोषणा गर्नुअघि नै योजना बनाइएको थियो ।

उनको भ्रमण उत्तरपूर्वी सिरियामा टर्की सेनाले जारी राखेको सुरक्षा कारबाहीको साथसाथै भएको थियो । उनले सीमाको दुबै क्षेत्रमा भएको नागरिकको हताहत समाचारप्रति चिन्ता व्यक्त गरेका छन् ।

लोकोकले सबै पक्षहरुलाई संयम ब्यबहार गर्न, नागरिक र नागरिक पूर्वाधारको संरक्षण गर्न र आफ्नो दायित्वअनुरूप कार्य गर्न गुटर्रेस्को अपील दोहोर्याएका छन् ।

टर्कीले जारी राखेको यस अभियान क्रममा गत दुई दिनयता नागरिकको हताहत भएको समाचार प्राप्त हुन थालेको मानवअधिकार कार्यालयहरुले जनाएको छ । युद्धका पक्षहरु र सैन्य कारबाही अन्तर्राष्ट्रिय मानवीय कानुनको अनुरूप हुनु पर्छ र विशेषगरी भेदभाव, समानुपातिकता र सावधानीका सिद्धान्तहरूमा आधारित हुनु पर्ने उक्त कार्यालयले जनाएको छ ।

जारी यस द्वन्द्वको कारण विस्थापित भएका नागरिकहरुलाई उनीहरूको घर फर्कन वा अन्यत्र फर्कन नसक्दासम्म उनीहरूलाई सहयोग र सुरक्षा प्रदान गर्र्नु सो कार्यालय जानकारी दिएको छ । टर्कीको आक्रमणबाट विस्थापित भएका बालबालिकाहरू सिरियाको पश्चिमी प्रान्त हस्साकेतर्फ लागेका छन् । टर्कीले सीमापारी सिरियामा कुर्दहरूको नियन्त्रण रहेको क्षेत्रमा आक्रमण थालेपछि झन्डै एक लाख मानिसहरू घर छोडेर भाग्न बाध्य भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

प्राय व्यक्तिहरु हस्साके र तल तामेर नगरका विद्यालय तथा अन्य भवनहरूमा आश्रय लिएको राष्ट्रसंघले बताएको छ । अमेरिकाले गत बुधबार सो क्षेत्रबाट आफ्नो सेना फिर्ता गरेपछि टर्कीले सैन्य कारबाही शुरु गरेको थियो ।

टर्कीको सैन्य कारबाही रोक्न अमेरिकाले दबाव दिएको छ । आक्रमण नरोकेमा टर्कीले ‘गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी अमेरिकी रक्षामन्त्रीले दिएका छन् भने अर्थमन्त्रीले नयाँ प्रतिबन्धहरूको चेतावनी दिएका छन् । टर्कीले सैन्य कारबाही थालेपछि कम्तीमा ११ जना गैरसैनिक नागरिकको मृत्यु भएको मानव अधिकारवादी संस्थाहरुले बताएको छ ।

मानवीय सहायता प्रदान गर्ने संस्थाहरुकाअनुसार सो द्वन्द्वमा प्रभावित व्यक्तिहरूको सङ्ख्या अझै बढ्ने बताएको छ । कुर्द नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्सेस (एसडीएफ) र टर्कीलाई समर्थन गर्ने समूहका दर्जनौँ लडाकुहरूको मृत्यु भएको छ । यद्यपी टर्कीको सेनाले आफ्ना एक सैनिकको पनि मृत्यु भएको पुष्टि गरेको छ ।

विश्लेषकहरूका अनुसार अमेरिकी सेना फिर्ता गरेपछि टर्कीले सीमानामा आक्रमण शुरु गरेको बताइएको छ । सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएपछि त्यो क्षेत्रको अधिकांश भाग सिरियाली सरकारको नियन्त्रणमा छैन । सन् २०१५ देखि त्यहाँ एसडीएफको नियन्त्रण थियो ।

इस्लामिक स्टेट्स् समूहविरुद्ध अमेरिकाले गरेको सङ्घर्षमा एसडीएफले सघाएको थियो । तर टर्कीले एसडीएफलाई टर्कीविरुद्ध विद्रोहको समर्थन गर्ने आतङ्कबादी मान्दै आएको छ । आफूले गरेको आक्रमण कुर्द लडाकुहरूलाई धपाएर ‘सुरक्षित क्षेत्र’ निर्माण गर्ने प्रयास भएको भन्दै टर्कीले सैन्य कारबाहीको प्रतिरक्षा गरेको छ ।

‘जसले जे भने पनि हामी रोकिँदैनौँ,’ टर्कीका राष्ट्रपतिले शुक्रवार भनेका छन् । -रासस/सिन्ह्वा

प्रकाशित मिति : २०७६ असोज २५ गते शनिवार
प्रतिक्रिया