दशैंको मुखमा हुम्लामा चामलको अभाव

असोज १७, २०७६  

हुम्‍ला: दशैंको मुखमा हुम्लाका दुई वटा डिपो र तीन वटा बिक्री केन्द्रमा चामलको अभाव भएको छ । स्थलमार्ग भएर आउनुपर्ने चामल बिक्री केन्द्र र डिपोमा नहुँदा हुम्लाका पाँच गाउँपालिकाका नागरिकलाई यो वर्षको दशैं खल्लो हुने भएको छ । जिल्लाको अदानचुली गाउँपालिकाको श्रीनगर डिपो, सर्केगाड डिपो, देउली बिक्री केन्द्र, छप्रेला बिक्री केन्द्र र यो वर्ष मात्रै खार्पुनाथ गाउँपालिकामा स्थापना गरिएको नयाँ बिक्री केन्द्रमा चामलको अभाव रहेको नेपाल खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले जनाएको छ ।

Advertisement

चालू आर्थिक वर्षमा संस्थानले टेण्डर प्रक्रिया ढिलो गरेका कारण जिल्लाको दक्षिणी क्षेत्रमा रहेका यी पाँच गाउँपालिकामा चामल नपुगेको कम्पनीका शाखा प्रमुख रामबहादुर विष्टले बताए। दशैंमा चामल नपुगे पनि तिहारसम्ममा पुर्‍याउने लक्ष्य लिइएको उनले जानकारी दिए।  सधैँ दशैंमा चामलको अभाव हुने सदरमुकाम सिमकोटमा भने यो वर्ष खाद्यान्न मौज्दात प्रशस्त रहेको छ ।

काठमाडौं केरुङ हुँदै सिमकोट पुगेको ६ सय क्विन्टल र स्थानीयलाई वितरण गरी बाँकी रहेको एक हजार क्विन्टल चामल गरी १६ सय क्विन्टल मौज्दात रहेको प्रमुख विष्टले बताए। यसैबीच,    खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले खडेरी प्रभावित क्षेत्रका स्थानीयवासीलाई दशैं मान्न खाद्यान्न उपलब्ध गराएको छ। लामो समयको खडेरीका कारण छरेको मकै पनि सुकेर मरेपछि खाद्य सङ्कटमा परेका स्थानीयवासीलाई नगरपालिकाले राहतस्वरुप चामल उपलब्ध गराएको हो। सुक्खाग्रस्त क्षेत्रमा पर्ने नगरपालिकाका ११ वडाका झण्डै पाँच हजार ५ सय घरधुरी खडेरी पीडितलाई दशैं मान्न जनही १० केजीका दरले चामल वितरण गरिएको नगरप्रमुख इवन राईले बताए।

प्रतिक्रिया दिनुहोस