तरुण कपको उद्घाटन गरे पूर्व उपप्रधानमन्त्री पौडेलले

तुलसीपुर, ९ असोज

नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले खेलकुद क्षेत्रको विकासका लागि सबै जुटुपर्ने बताउनुभएको छ । विकसित राष्ट्रहरुले खेलबाट आफुलाई समृद्धिको बाटोमा अघि बढाएको भन्दै उहाँले यसको विकास बिना नेपालमा पनि समृद्धिको परिकल्पना गर्न नसकिने बताउनुभयो । नेपाल तरुणदल तुलसीपुरले अयोजना गरेको तुरुण कप फुटबल प्रतियोगिताको तुलसीपुरमा बिहिबार उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका पौडेले स्थानीय स्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्न र नयाँ पिढीलाई फूटबल प्रति आकर्षण गर्नुपर्नेमा जोडदिनुभयो । ‘खेलले स्वास्थ्य मात्र राख्दैन यसले देशलाई चिनाउने काम पनि गर्छ,’ पौडेलले भन्नुभयो– ‘ अनुशासनमा खेलिने खेल भएकाले अनुशासनमा रहनुहोला ।’

नेपाल तरुणदल तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष सुनिलबाबु डाँगीको अध्यक्षतामा भएको प्रतियोगितामा क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरी, जिल्ला सभापति कीर्तिबहादुर खड्का लगाएका जिल्ला तहका नेता कार्यकर्ता पुगेका थिए । कार्यक्रममा स्वागत नेपाल तरुण दल दाङका अध्यक्ष टीका घर्तीले गर्नु भएको थियो ।

पहिलो खेलमा युएन बिसी घोराही बिजयी

शुक्रबार भएको पहिलो खेलमा युएन बिसी घोराही बिजयी भएको छ । युएन बिसीले एसएस एफए तुलसीपुरलाई सुन्यका बिरुद्ध (०–५¬) पाँच गोल प्रहारगरी बिजयी यात्रा सुरु गरेको हो । खेल सुरु भएको ८ औ मिनेटमा युएन बिसीका खेलाडी आर्श महराले पहिलो गोल गरेका थिए भने २९ औं मिनेटमा युएन बिसीकै रुपक शाहीले अर्को गोल गरेका थिए । त्यस लगत्तै युएनबिसीकै आर्श महराले खेल सुरु भएको ३२, ३३ र ४० औ मिनेटमा पुनः गोल हानेका थिए ।

शुक्रबार बिहानको पहिलो खेल उज्याले बिहानी घोराही र तुरुणदल ३ नं वडा तुलसीपुर र दोस्रो खेल काँसीपुर युवा क्लव र सक्सेश बी तुलसीपुर, बिच हुने छ । फुटबल प्रतियोगिता बिहान ७ बजेबाट सुरु हुने खेलकुद पत्रकार लक्ष्मण बस्नेतले जानकारी दिनुभयो । असोज १६ गतेसम्म संचालन हुने प्रतियोगीतामा २० वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको उपाधी चुम्ने टिमलाई नगद ६६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार र कप, मेडल, प्रमाण पत्र प्रदान गरिने भएको छ । प्रतियोगितामा दृतिय हुने टिमले नगद ३३ हजार ३ सय ३३, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई वेष्ट प्लेयर, वेष्ट डिफेन्स, वेष्ट किप्पर र वेष्ट कोचको छनौट गरि ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । खेल नकआउट सिस्टमबाट खेलाइने अयोजकले बताएको छ ।

 

 

प्रकाशित मिति : २०७६ असोज ९ गते बिहिवार
प्रतिक्रिया