उपनिर्वाचनका लागि २१ दलको निवेदन

काठमाडौँ, असोज १ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि मङ्गलबारसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ‘समाजवादी पार्टी’ सहित २१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । उपनिर्वाचनमा भाग लिन चाहने दललाई आयोगमा दर्ताका लागि भदौ मसान्तसम्मको अवधि तोकेको थियो ।
आयोगका सहसचिव एवं प्रवक्ता गिरिजा शर्माले मङ्गलबारसम्म आयोगमा २१ वटा राजनीतिक दलले उपनिर्वाचन प्रयोजनका लागि निवेदन दर्ता गराएको जानकारी दिनुभयो । वि.सं. २०७४ सालको स्थानीय, प्रदेश र प्रतिनिधि निर्वाचन भएपछि एकीकरण भई वा गाभिई नयाँ नाममा दर्ता भएका दलले उपनिर्वाचनमा भाग लिन दल दर्ता हुनुपर्ने प्रावधान छ तर २०७४ को तीन तहको निर्वाचनमा आयोगमा दर्ता भएका राजनीतिक दलले उपनिर्वाचनका पुनः दर्ता गर्नु पर्दैन ।
आयोगमा राजनीतिक दल हेर्नुहुने उपसचिव रुद्रप्रसाद सुवेदीका अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ‘समाजवादी पार्टी’ले पनि दल दर्ताको निवेदन दिएका छन् । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र एकीकृत नेकपा (माओवादी) बीच २०७५ जेठ २३ मा औपचारिक रूपमा एकीकरण भई नयाँ दल बनेकाले आयोगमा पुनः दर्ता गर्नु परेको हो ।
यसैगरी अर्को सत्तारुढ ‘समाजवादी पार्टी’ पनि उपनिर्वाचनका लागि दर्ता भएको छ । तत्कालीन सङ्घीय समाजवादी पार्टी, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच २०७६ साउन १७ गते एकीकरण भई नयाँ दल बनेको हो ।

प्रकाशित मिति : २०७६ असोज १ गते बुधवार
प्रतिक्रिया