‘राधे’ र ‘घामपानी’ ले गरे करोड पार, ‘लभ लभ लभ’ ले हल पाएन

काठमाडौं, ५ वैशाख ।

निर्देशक दीपेन्द्र लामाको सिनेमा ‘घामपानी’ ले एक करोड ३१ लाखको ग्रश कलेक्शन गरेको छ । पहिलो दिन  काठमाडौंमा ३८ लाख र मोफसलमा ३३ लाखसहित ७१ लाख र दोस्रो दिन काठमाडौंमा ३० लाख र मोफसलमा २५ लाख गरी ५५ लाख ग्रस कलेक्शन गरेको सिनेमाले  करोडको आंकडा पार गरेको छ । ‘घामपानी’ काठमाडौंमा ४० र मोफसलमा ३० वटा हलमा रिलिज भएको छ । त्यही दिन रिलिज भएको निखिल उप्रेती र प्रियंका कार्की अभिनित  सिनेमा ‘राधे’ पनि रिलिज भएको दुई दिनमा करोड क्लबमा प्रवेश गरेको छ ।

नयाँ वर्षको अवसर पारेर रिलिज भएको यस सिनेमाले पहिलो दिनमा ८५ लाख र दोस्रो दिन ४२ लाखको व्यापार गर्दै एक करोड २७ लाखको ग्रश कलेक्शन गरेको छ । ६५ लाख लगानी रहेको सिनेमाले लगानी उठाउनका लागि भने अझै ५० लाख माथिको ग्रस कलेक्शन गर्न बाँकी छ । वैशाख १ मै रिलिज भएको सिनेमा ‘लभ लभ लभ’ ले भने उपत्यका बाहिर रिलिज हुन नपाएर खासै राम्रो व्यापार गर्न सकेको छैन । तर सिनेमालाई जतिले हेरेका छन् सबैले राम्रो भएको प्रतिक्रिया भने दिएका छन् । काठमाडौंमा जम्मा २१ वटा मल्टिप्लेक्शमा रिलिज भएको यस सिनेमाले दुई दिनमा ३२ लाख मात्र ग्रस कलेक्शन गरेको जानकारी छ ।

उपत्यका बाहिर जम्मा दुईवटा हलमा सिनेमाले रिलिज हुने मौका पाएको थियो । वितरकहरु बिच भएको  खिचातानीले नै सिनेमा उपत्यका बाहिर रिलिज हुन समस्या भएको निर्देशकको भनाई छ । ७० लाख भन्दा धेरै लगानी रहेको सिनेमालाई उपत्यका बाहिर दोस्रो हप्तामा रिलिज गर्ने सोच निर्माता तथा निर्देशकको छ । त्यस्तै यो सिनेमा वैशाख ३१ मा अष्ट्रेलियामा पनि रिलिज हुँदैछ । सिनेमाले नेपालमा नभए पनि विदेशमा प्रदर्शन गरेरै लगानी उठाउने भने पक्का छ । सिनेमामा सुरज पाण्डे र स्वस्तीमा खड्का मुख्य भूमिकामा छन् ।

प्रकाशित मिति : २०७४ बैशाख ५ गते मङ्गलवार
प्रतिक्रिया