प्रहरी घेरा तोड्दै हङकङमा विशाल प्रदर्शन

भदौ १६, २०७६  

एजेन्सी

Advertisement

हङकङ। चीनको विशेष प्रशासनिक क्षेत्र हङहङमा निरन्तर प्रदर्शन जारी छ । प्रजातन्त्र पक्षधर प्रदर्शनकारीले प्रहरी घेरा तोड्दै प्रदर्शन गरेका छन् । सो क्रममा घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । चिकित्सकले पाँच जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका हुन् ।

भर्ना गरिएका ३१ जनामध्ये १८ जना अस्पतालमा उपचारपछि घर फर्किएका छन् भने थप आठजनाको अवस्था स्थिर रहेको बताइएको छ । प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडपपछि युद्धमैदान बनेका हङ‌कङका केही मेट्रो स्टेसन आइतवार बन्द भएका छन् ।

प्रहरीले एउटा मेट्रो स्टेसनमा प्रवेश गरेर धरपकड गरेको र पिरो वस्तु छरिदिएको बताइएको छ । प्रदर्शनमा सहभागी भएका ४० जनालाई प्रहरीले एकै ठाउँबाट पक्राउ गरेको थियो ।

अदालतले एक आदेश जारी गर्दै प्रतिबन्ध लगाएको भए पनि प्रदर्शनकारीले अन्तर्राष्ट्रिय विमानस्थल वरपरका सडकहरू बन्द गर्ने योजना बनाएका थिए । लामो समयदेखि प्रदर्शन जारी रहेको हङ‌कङका अधिकारीहरूले कानुनी शासन कायम गराउने बताउँदै जनताहरूलाई हिंसा अस्वीकार गर्न आग्रह गरेका छन् । चिनियाँ राज्य सञ्चालित सञ्चार माध्यमले सो भूभाग नियन्त्रण बाहिर जाने खतरा बढेको भन्दै कानुन स्थापित गरिनुपर्ने समय आएको बताएका छन् ।

हङ‌कङमा प्रतिबन्ध बेवास्ता गर्दै आइतबार पनि विरोध प्रदर्शनमा उत्रिएका हजारौं मानिसलाई हङकङको दंगा प्रहरीले अश्रु ग्याँस, रबरको गोली र पानीको फोहोरा प्रयोग गरी धपाइएको थियो ।

अधिकारीले सडक खाली गराउन चेतावनी स्वरूप हवाई फायर गरेका थिए । प्रदर्शनकारीले आगो बाल्नुका साथै पेट्रोल बम प्रहार गरेका थिए भने केही प्रदर्शनकारीले संसद् भवनमा समेत आक्रमण गरेका थिए ।

हङ‌कङमा पूर्ण प्रजातान्त्रिक चुनावमाथि चीनले प्रतिबन्ध लगाएको पाँच वर्ष पुगेको सन्दर्भमा शनिबार प्रदर्शन भएको हो । शुक्रबार कैयौं प्रजातन्त्र पक्षधर अभियानकर्मी र चीनको विशेष प्रशासनिक क्षेत्रका सांसद पक्राउ परेका थिए ।

अपराधमा संलग्नलाई मुद्दा चलाउन चीन लग्न मिल्ने किसिमको सुपुर्दगी विधेयक आएपछि सुरु भएको आन्दोलन विधेयक स्थगित भएपछि पनि निरन्तर जारी छ । विधेयक स्थगित गरिए पनि विरोध प्रदर्शन झन चर्किंदै गइरहेको छ । सो क्रममा पटक–पटक झडपका घटना भएका छन् ।

प्रहरी अगाडि नबढून् भनेर रोक्न प्रदर्शनकारीले इँटाले छेकेका थिए । प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन अश्रुग्याँस र रबरका गोली प्रहार गरेको थियो । तर, प्रदर्शनकारीले त्यसको जवाफमा पेट्रोल बम प्रहार गरेको थियो । तीन महिनादेखि प्रदर्शन गर्दै आएका कैयौं प्रदर्शनकारी संघर्षप्रति झन् कट्टर बन्दै गएका छन् ।

 


प्रतिक्रिया दिनुहोस