कहाँ छ तीजको मौलिकता ?

भदौ १६, २०७६  

नगेन्द्रराज पौडेल

Advertisement

आज हरितालिका तीज । नेपाली महिलाको महान् पर्व । नेपाली बृहत् शब्दकोशले तीजलाई ‘नारीले समृद्धिका निम्ति धार्मिक परम्पराअनुसार शिव पार्वतीको उपासना र पूजा गर्ने दिन’ भनेर परिभाषित गरेको छ । भविष्य पुराणमा यसलाई हरितालिका भनिएको छ । पार्वतीको विवाह विष्णुसँग हुन लागेकोमा उनीसँग विवाह हुन नपरोस्, महादेवसँग विवाह होस् भन्ने पार्वतीको चाहनालाई सघाउन उनका सखीहरूले पार्वतीलाई हरण गरेर जंगलमा लुकाएको हुनाले यसलाई हरितालिका भनिएको हो भन्ने पनि पाइन्छ । उनले जंगलमा खाएको कुरा कालान्तरमा हामीले दर भनी खाने गरिएको, तृतीयामा आर्य पार्वती र अनार्य शिवको बिहे भई शिवजीसमेत ताण्डव नृत्य गर्ने गरेकाले यस दिनको सम्झनामा नेपाली चेलीले तीजको नाचगान गर्न थालेका हुन् भन्ने कहावत पनि पाइन्छ ।

यसो त तीजलाई नारी विशेषको पर्व र यस अवसरमा गाइने गीतलाई स्वास्नी मानिसले गाउने पर्वगीतका रूपमा हेरिएको छ । तीजकै अवसरमा गाइने हुँदा यस्ता गीतलाई तीजे गीत पनि भन्ने गरिएको छ । वर्ष दिनसम्म मेलापाता, घाँस–दाउरा गर्दै दिन गुजार गरिरहेकी नारीले आफ्ना कथा, व्यथा र सामाजिक विकृति एवं विसंगतिलाई यही तीजको अवसर पारेर गीतका रूपमा अभिव्यञ्जना दिने गर्दछन् ।
गीतमा उनीहरूले प्रयोग गर्ने शब्दशक्ति अभिधा नभएर लक्षणा र व्यञ्जनास्तरको हुन्छ । यसैकारण यस्ता गीत यथार्थपरक र सुधारोन्मुख हुन्छन् । व्यंग्यात्मक शैलीका यस्ता गीतमा सक्कली नेपालीपन पाइन्छ । नेपाली चेलीको अन्तर्मनको पीडाको प्रतिनिधित्वका हिसाबले तीजे गीत अब्बल मानिन्छन् । मौलिक पनि त्यत्तिकै हुन्छन् ।
आदिकालदेखि चल्दै आएको तीज पर्व आरम्भमा भाद्र शुक्ल द्वित्तीयादेखि पञ्चमीसम्म चार दिन मनाइने प्रचलन थियो । अहिले भने यसरी चार दिनमा तीजलाई खुम्चाउन नसकिने अवस्था छ । सुरुमा यो पर्व नेपालमा प्रायः क्षेत्री बाहुनले बढी मनाउने र आदिवासी, जनजातिले त्यति महŒव नदिने गर्दथे । तर, अहिलेको मिश्रित बसाइका कारण सबैको साझा पर्वका रूपमा यसलाई लिने गरिएको पाइन्छ ।

नारीप्रधान पर्व

तीज नेपाली महिलाका निम्ति व्रत, उपवास र शिवजीको उपासनाको पर्व पनि हो । शिव पुराणमा शिवजीको महिमा वर्णन गरिएको छ । हिमालय पर्वतकी पुत्री पार्वतीले श्री महादेव स्वामी पाऊँ भनी कठोर तपस्या गरी महादेवसँग उनको विवाह भएको कुरा शिव पुराणमा उल्लेख गरिएको छ ।
कुमार सम्भव महाकाव्यमा कालिदासले पार्वतीको कठोर तपस्यालाई चर्चा गरेका छन् । पार्वतीले व्रत बसेर उनको मनोकामना पूर्ण भएकाले अरू महिला पनि आआफ्ना मनोकामनासहित (अविवाहित नारीले असल पति पाऊँ भनी तथा विवाहित नारीले पतिको चिरायुका लागि) ब्रत बस्न थालेको जनश्रुति पनि पाइन्छ । ब्रत वा उपासना आफंैमा नराम्रो पक्ष होइन ।
विज्ञानले समेत महिनामा एक दिन खाली पेटलाई राम्रै मान्दछ । यस अर्थमा तीजमा हाम्रा महिलाले बस्ने ब्रतलाई सकारात्मक रूपमा लिन सकिन्छ । तर, उपवासका नाममा गरिने चेलीबेटीको व्रतको एकोहोरोपना, ब्रत बस्ने दिनभन्दा अघिल्लो दिनको मध्यरातमा दरका रूपमा खाने अपाच्य खाना भने विज्ञानसम्मत देखिँदैन । नसक्नेले पनि ब्रत बस्नुपर्छ भन्ने सोचलाई नारीले त्याग्नुपर्छ ।

सबै कृत्रिम

आजभोलिको तीजमा मौलिकता छँदै छैन । सबै कृत्रिम, अस्वाभाविक र अप्राकृतिक पाराले तीज मनाउन थालिएको पाइन्छ । हिजोका दिनमा जसरी तीजको सुरुवात भयो, आज यसले विगतको विरासत धान्न सकेको छैन । हुनेले मीठो मसिनो नहुनेले पीठो मसिनो खाने पर्व थियो तीज । सात डाँडापारि विवाह गरी पठाएका चेलीबेटीलाई बाबाआमा, दाजुभाइ लिन गएर घरमा जम्मा गरी मीठो मसिनो खाने खुवाउने दिन थियो तीज । असल भाइचाराको गाँठो कसिलो बनाउने पर्व थियो तीज । चेलीलाई माइती लिन जानुपर्ने, घर पक्षले अरू बेला नभए पनि यो बेला माइत पठाउनैपर्ने पर्व थियो तीज । सायद यसैकारण माइतीको महत्वबोध बढी हुन्थ्यो, उसबेला नेपाली चेलीलाई ।

आज यो अवस्था रहेन । भाद्र शुक्ला द्वित्तीयादेखि सुरु हुने तीज जनैपूर्णिमा सुरु नहुँदै सुरु हुन्छ । सांगीतिक तयारी हुनु स्वाभाविकै होला तर कम्तीमा पनि तीजे गीत गाउनलाई कृष्णाष्टमी कुर्नुपथ्र्यो अनि मात्र यसको महत्व हुन्थ्यो । कथित सहर बजारमा साउनको आरम्भसँगै भड्किला तथा उत्ताउला पहिरनसहित दिनहुँजसो पार्टी प्यालेसमा हुने भोज भतेर, नक्कली नै सही, प्रतिस्पर्धामा महिलाले पहिरने गरगहना, अनावश्यक र अस्वाभाविक शृंगारपटारजस्ता कुराले तीज महिलाको महान् चाड हो भन्ने कुरालाई बिर्साइदिएको पाइन्छ ।
हुने खानेलाई त यसले राम्रै गर्ला अथवा नराम्रो गरे यसको फल उनैले भोग्लान्, जसले तीजै नआई तीज मनाउँछन् । तर, हुँदा खाने नेपाली समाजका अन्य महिलालाई भने यो अनावश्यक तडकभडक र देखासिकीले नकारात्मक असर पार्ने भयो ।
‘कोही म¥योभन्दा पनि काल पल्केको’मा चिन्ता लिनुपर्ने भयो ।
आरम्भमा कुनै पनि चाडपर्व भड्किला थिएनन् । यी चाडपर्व एकआपसमा मिलेर, हुने र नहुनेबीचको अन्तर कम गर्दै व्यक्तिगत रूपमा मनाइन्थे । एउटाको चाडलाई अर्कोले हस्तक्षेप गर्दैनथे । जनैपूर्णिमामा लोग्नेमान्छे बढी हाबी हुन्थे, तीजमा महिला । तर, आज के महिला के पुरुष दुवैले तीजमा नाचगान गरेको देखिन्छ । फेरि विगतका जस्ता सटिक सामाजिक चित्रण गरिएका, सुधारको अपेक्षासहित गाइएका पारिवारिक गीत आज कहाँ सुन्न पाउनु ? तीजे गीत सुन्दा लाग्छ यिनी तीजमा छन् कि रत्यौलीमा । अर्थात् तीज र रत्यौलीमा भेद छुट्याउन नसकिने अवस्था आयो । तीजमा महिलाले गाउने, उनीहरूले नै बजाउने र महिला नै नाच्ने परम्परा थियो ।

 

चाडपर्व हाम्रा अमूल्य धरोहर हुन्, यिनको अस्तित्व निमिट्यान्न पार्नुहु“दैन भन्ने कुरालाई सबैले मनन गर्न जरुरी छ । संस्कृतिको जगेर्नाबाट नै हामी हाम्रो मौलिकता बचाउन सकिन्छ

विगतका जस्ता सटिक सामाजिक चित्रण गरिएका र सुधारको अपेक्षासहित गाइएका पारिवारिक गीत आज कहा“ सुन्न पाउनु? तीजे गीत सुन्दा लाग्छ, नारीहरू तीजमा छन् कि रत्यौलीमा

 

खानपिनमा पनि उस्तै

तीज वर्षायाम सकेपछि पर्ने पर्व हो । तीजमा किसान खानेकुरा संग्रह नै गरिराख्थे । खासगरी दुग्धजन्य पदार्थ यो बेला बढी खाने, खुवाउने चलन थियो । दही, दूधका अलावा घिउ प्रशस्त चाहिने हुँदा तीजका लागि भनेर बकेर्नु भैंसी हुनेले साटफेर गरेरै वा किनबेच गरेर भए पनि लैनु भैंसी किन्थे । तर, आज यो कुरा एकादेशको कथा बनेको छ । तीज सुरु हुनुभन्दा महिनौं अगाडिदेखि खाने र खुवाउने होडबाजी नै चलेको पाइन्छ । सबै पार्टी प्यालेस वा ठूलाठूला होटल तीजमय बन्दै छन् ।
तीज हो वा रत्यौली छुट्याउनै नसक्नेगरी क्यासेटमा गीत घन्काएर छिमेकीलाई समेत असर पर्नेगरी कृत्रिम नाँचमा रमिता देखाउने कुचलन नै छ । हरेकजसो अड्डामा महिला कर्मचारी दर खान वा खुवाउन गएकाले गैरहाजिर हुने गरेको वा पूरा समय सेवाग्राहीलाई नदिएको गुनासा पनि सुन्नमा आउँछन् । खानपानमा पनि तामसी भोजनलाई महŒव दिइएको पाइन्छ । हामीले पुरातनदेखि मानी आएको तीजको वास्तविक मर्म यो थिएन र होइन पनि । माछा मासुसम्म त ठीकै होला, तारे होटलमा खाने खुवाइने मादक पदार्थ (जाँड, रक्सी, बियर) समेतको लतले तीजको पहिचान खोसिएको अवस्था छ । मौलिकता गुमेको छ । जसलाई राम्रो मान्न सकिँदैन ।

जमाना बदलिएकै हो त ?

आजकल एकातिर मानिस बढी फुर्सदिला छन् भने अर्कोतिर रेमिट्यान्स नै सही, खर्च गर्ने धेरथोर हैसियत सबैसँग देखिन्छ । हो, भन्नलाई सजिलो छ अतितजस्तो वर्तमान छैन । मानिस क्रमशः फुर्सदिला हुँदै छन् । नेपाली चेली चुलाचौकाबाट माथि उक्लिसकेका छन् । आम्दानीको स्रोत बढ्दै छ । यसैले तीज मनाउन तीज नै कुर्नुपर्नै अवस्था छैन ।
तर, संंस्कृति, परम्परा, रीतिरिवाजमा सापेक्ष सुधार जरुरी छ । मौलिकता नै निमिट्यान्न पार्नेगरी होइन । खुर्सानीमा पीरोको स्वाद हराउनु भनेको खुर्सानीको पहिचान गुम्नु हो । मौलिकता नरहनु हो । बस्, हाम्रा मौलिक चाडबाड र रीतिरिवाजले पनि सुधारका नाममा मौलिकता गुमाउनु हुँदैन । आफ्नो चिनारीलाई कायम राख्दै सापेक्ष सुधारसम्म गर्न सकिन्छ ।
खानपान र लवाइखवाइमा सादगीपन अपनाई मौलिकता नभाँचिने गरी तीज पर्व मनाउन जरुरी छ । कथित् आधुनिकताका नाममा तीज मनाउँदा तीजको पहिचान नै गुम्ने स्थिति कदापि आउनुहुँदैन । चाडपर्व हाम्रा अमूल्य धरोहर हुन् । यिनको अस्तित्व निमिट्यान्न पार्नुहुँदैन भन्ने कुरालाई सबैले मनन गर्न जरुरी छ । संस्कृतिको जगेर्नाबाट नै हामी हाम्रो मौलिकता बचाउन सक्छांै ।

 


प्रतिक्रिया दिनुहोस