तुलसीपुर क्षेत्रका ३४ हजार विद्यार्थीमा शिक्षाको असर परीक्षण गरिदै

साउन २५, २०७६  

लक्ष्मण विश्वकर्मा, तुलसीपुर, २५ साउन । दाङ तुलसीपुर उपमहानगरपालिका क्षेत्रको सामुदायिक तथा संस्थागत विद्यालयमा शिक्षाको असरको परीक्षण गरिने भएको छ ।कक्षा एकदेखि कक्षा आठ सम्म अध्ययनरत सामुदायिक र संस्थागत विद्यालयका ३४ हजार विद्यार्थीहरुमा उनीहरुले पढेका पाठ्यक्रमहरुको असर बारे परीक्षण गर्न लागिएको हो । यस क्षेत्रमा शिक्षाको सुधार ल्याउनका लागि विश्वव्यापी परिक्षण अर्थात असर टेष्ट गर्न लागिएको उपमहानगरपालिका शिक्षा महाशाखा समितिका संयोजक देवराज विश्वकर्माले जानकारी दिए ।

Advertisement

उनका अनुसार सामुदायिक विद्यालयका सोह्र हजार र संस्थागतका अठार हजार विद्यार्थीलाई सिकाईको परिक्षण गर्न लागीएको हो । तुलसीपुर उपमहानगरपालिका कार्यालय र टिच फर नेपालको समन्वय तथा सहकार्यमा उक्त परिक्षण गर्न लागिएको हो । नगर भित्रका सवै सामुदायिक तथा संस्थागत विद्यालयहरुको विगतका वर्षमा कक्षा आठको नतिजा कमजोर देखिएकाले शैक्षिक सुधार ल्याउने उद्देश्यका साथ आगामी भदौ १ गते देखी १९ गते सम्म सम्पुर्ण विद्यालयमा कक्षा एक देखी कक्षा आठ सम्म अध्ययनरत प्रत्येक विद्यार्थीहरुलाई केहि निश्चित प्रश्नहरु तयारी गरी सर्वेक्षण गरिने छ ।
उक्त परिक्षणबाट शैक्षिक स्तरमा देखिएको कमजोरी पत्ता लगाई आगामी दिनहरुमा शिक्षामा व्यापक सुधार गर्न सहज हुने आयोजकले अपेक्षा गरेको छ । यस्तो अभ्यास हाल सम्म नेपालको दुई स्थानमा दुई पटक मात्र भएको र तेस्रो पटक तुलसीपुर उपमहानगरपालिकामा गर्न लागीएको आयोजकले दावी गरेको छ ।जसबाट उपलब्धी भएका सिकाईहरुलाई आगामी शैक्षिक सुधारको योजनामा समावेश गरिने छ । ती विद्यार्थीहरुलाई असर परिक्षण गराउनका लागी एक सय पचास जना जनशक्ति तयार गरिदैछ ।

ती स्वंयम सेवकहरुका लागी यहि साउन २६ गते देखी २९ गते सम्म चार दिन प्रशिक्षण तालिमको आयोजना गरिएको छ । तालिममा प्रविणता तह र स्नातक तह उतिर्ण गरेका विद्यार्थीहरु सहभागी हुदैछन् । तालिम पश्चात उनीहरुलाई स्वंयम सेवकका रुपमा परिचालन गरिने छ । उनीहरुले मोवाएल एप्स प्रयोग गरेर डिजिटल प्रविधि मार्फत प्रत्येक विद्यार्थीलाई प्रश्न सोध्नेछन् । जुन विद्यार्थीलाई सोधिएको प्रश्नको उत्तर स्वतह सप्टवयरमा राख्ने प्रविधि बनाईएको समितिका संयोजक विश्वकर्माले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस